भीडभाड बढेसँगै कन्ट्याक्ट ट्रेसिङमा सकस, जोखिम बढ्यो

रिपोर्ट नेपाल | 2020 Jul 25 | 08:18 am 1937

काठमाडौं, साउन १०ः लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् ।

कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ सुस्त गतिमा गरिएकाले जोखिम अत्यधिक बढेको हो ।

लकडाउन खुकुलो भएपछिको अवधिमा मात्रै संक्रमितको संख्या १२ हजार १ सय ६३ पुगेको छ । पहिलोपटक गत १ असारमा लकडाउन खुकुलो भएको थियो । गत ७ साउनदेखि सरकारले लकडाउन पूर्ण रूपमा हटाएको छ । पछिल्ला दुई दिनमा २ सय ८० जनामा संक्रमण देखिएको छ । लकडाउन खुकुलो हुँदा भौतिक दूरी कायम नहुने र संक्रमितसँग सम्पर्क हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरूको विश्लेषण छ ।

मुख्यतः काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरू गुड्न थालेका छन् । ती सवारी साधनमा चढ्ने यात्रुहरूको विवरण राखिएको छैन । जसले गर्दा यात्रुमध्ये कुनै व्यक्तिलाई संक्रमण भइहाले वा संक्रमण देखिएमा उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ थप जटिल हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले संक्रमितको संख्या बढ्दै गएकाले थप चुनौती देखिएको बताए । उनले भने, ‘अब स्वयं व्यक्ति सचेत हुन जरुरी छ । सार्वजनिक सवारीसाधनमा चढेकाहरू सबैको परिचय खुलेको पनि हुँदैन । हिँडडुल गर्दा मास्कको समुचित प्रयोग गर्नैपर्छ । यस्तै, साबुनपानीले हात धुने र हातले मुखनाक आँखा छुनुहुँदैन । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.