गोरखा, कात्तिक ५ : भिरमा भएको भिरमौरीको मह झिक्ने क्रममा भिरबाट लडेर एक जनाको मुत्यु भएको छ ।
बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए । छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह झिकेका घले मह भिक्दै गर्दा चिप्लिएर भिरबाट खसेको छोरा गिर्जा घलेले बताएको बझिएको छ ।
बाबु चिप्लिएर खसेपछि सँगै गएका छोरा गिर्जा घलेले स्थानीयलाई खबर गरेर गाउँका सबैमान्छे खोजतलास गर्न पुगेको बताए । घले भिरबाट खसेर बेपत्ता भएको जानकारी पाएपछि बारपाक बजारदेखि करीब डेढ किलोमिटरको दूरीमा पर्ने उक्त भिरमा गाउँले सबै उनलाई खोज्न पुगेका थिए ।
भिरबाट करीब पाँच मिटर तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाइ छ । उनको शरीर पूर्णरुपमा क्षतविच्छेद अवस्थामा फेला पारेको घलेले बताए । कुम्र्याह भिर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भिरमौरीको मह भिक्न जाने गरेको पाइन्छ ।