भित्रियो ‘कालापहाडे’को दशैं

रिपोर्ट नेपाल | 2022 Sep 25 | 07:48 am 1329

बाँके, असाेज ९ः रूकुमका हरि गैरे झोला र बोरामा सामान बोकेर नेपालगन्ज नाकाबाट भित्रिए । भारतको कारगिलमा काम गर्ने गैरे दशैं मान्न घर फर्किएका हुन् ।

हरिसँगै तजविज गैरेको टोली थियो । बाँके कोहलपुरका रेशम चौधरीको एउटा समूह पनि शनिबार नै कारगिलबाट फर्कियो । कारगिल जोखिमपूर्ण ठाउँ मानिन्छ । लडाइँ भइरहने क्षेत्र र उचाइमा भएकाले अक्सिजनको कमी हुन्छ । चौधरीले इँटा बनाउने काम गर्ने बताए ।

नेपालीको ठूलो संख्या कारगिलमा काम गरिरहेको जानकारी दिएका चौधरीले लडाइँ भइरहने भएकाले डर र उचाइमा रहेकाले अक्सिजन कमी हुने समस्या रहेको बताए । रूकुमका तजविज गैरेले पुराना बमहरू देखिरहने बताए ।

‘डर लाग्दो ठाउँ हो । तर, अन्यत्रभन्दा पैसा अलि बढी हुन्छ’, गैरेले भने– ‘बढी पैसा हुने भएकाले कारगिलमा गएका हौं ।’

दैलेखका भुवन सुनारको टोली सिमलाबाट दशैं मान्न घर आएको छ । नेपालगन्ज नाकामा यति बेला हुलका हुल नेपाली पोका पुन्तरा बोकेर घर फर्किरहेको देखिन्छ । भारतका विभिन्न शहरमा गाह्रोसाह्रो काम गर्ने नेपाली महान् पर्व दशैं घरपरिवारसँग हाँसीखुसी मनाउन फर्किरहेका छन् ।

नाकाबाट लर्को लागेर फर्किरहेका उनीहरूको अनुहारमा घर पुग्ने हतारो देखिन्छ । घरपरिवारलाई लत्ताकपडा र सामान बोकेर फर्किएका उनीहरूलाई घरपरिवारले पनि त्यही हतारोमा कुरिरहेका छन् । ‘परदेशी’ फर्किएपछि उनीहरूको दशैंमात्रै होइन, खुसीयाली भित्रिनेछ ।

दशैं मान्न फर्किएका नेपालीलाई ‘कमाइ’ बचाएर घरपरिवारसम्म पुर्याउनु ठूलो चुनौती नै हुने गर्दछ । काम गरेको ठाउँमा ठेकेदारबाट पैसा लिनु मात्रै नभएर बाटोमा लुटिने डर हुने गरेको छ । नाकामा नेपाल र भारतका प्रहरी, भन्सार कर्मचारी, रिक्साचालक, होटल सञ्चालकले दुःख दिने गरेको गुनासो सुनिन्छ । शनिबारदेखि नाकामा पुगेर भारतबाट आएका नेपालीलाई तान्ने होटल सञ्चालकलाई भारतीय प्रहरीले कडाइ गरेको छ । दश जना नेपाली होटल सञ्चालकलाई समातेर उसले कारबाही प्रक्रिया अघि बढाएको छ ।

नेपालगञ्ज नाकाबाट दैनिक पाँच हजार मानिस दशैं मान्न घर फर्किरहेका छन् । दशैं अझै नजिकिँदै जाँदा यो संख्या बढ्दै जाने गर्दछ । घरको चाँजोपाँजो मिलाउनका लागि केही दिनअघि आउनेहरू फर्किरहेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज माधव रिजालले दैनिक पाँच हजार बढी नेपाली घर फर्किरहेको बताए । ‘बिहान त थामिनसक्नु भीड हुन्छ । दशैं नजिकिएकाले नेपालीहरू लर्को लागेर घर फर्किरहेका छन्’, इन्चार्ज रिजालले भने– ‘नेपालीको ठूलो पर्व हो । अरू बेला दुःख गरे पनि चाडबाडमा घर आउनु स्वाभाविक नै हो ।’

विशेष गरेर कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिस मौसमी कामका लागि भारतको कालापहाड, प्रयाग, सिमला, लद्दाक, कारगीललगायत ठाउँमा पुग्ने गर्दछन् । आफ्नो उत्पादनले वर्षभरि खाना नपुग्ने उनीहरू मौसमी कामका लागि भारत जाने गर्दछन् । खेती गर्ने र चाडबाड मनाउने बेला फर्किने उनीहरू अरुबेला कामका लागि भारतमा हुन्छन् ।

नेपालगञ्ज नाकामा कोरोना जाँच गर्न राखिएको हेल्थ डेस्कका कारण भारतबाट फर्किएका नेपालीले झन्झट व्यहोर्नुपरेको छ । झोला, बोराको भारी बोकेर आउने उनीहरूलाई त्यहाँ रोकेर सास्ती व्यहोर्नुपरेको छ । सरकारले कोरोना जाँच गरे पनि पोजिटिभ देखिएकालाई ट्याग मात्रै लगाएर पठाइदिने भएकाले कोरोना जाँचको कुनै अर्थ देखिँदैन । पोजिटिभ देखिएकालाई आवश्यक उपचार नगर्ने हेल्थ डेस्कले खाली मान्छेलाई घाममा रोकेर कोरोना जाँचको नाममा दुःख दिइरहेको फर्किएका नेपालीको गुनासो छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.