भोजपुर, जेठ १४: सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले निर्मम हत्या गरेकी छन् । रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले अचानोमा राखेर घाँटी छिनाएर हत्या गरेकी हुन् । सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो ।
बालकका बाबु सूर्यबहादुर थापा भने लघुवित्त कम्पनीमा काम गर्ने हुनाले कार्यालयको कामले सदरमुकाम बाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए । प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सम्झना आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा कोठा भाडामा बस्दै आएकी थिइन् । उनले खुकुरी प्रहार गरी छोराको हत्या गरेकी हुन् ।