भाल्द्‍मिर पुटिन र सिन्जो आबेबीच मस्कोमा भेट, विवादित कुरिल टापूबारे वार्ता केन्द्रित हुने

रिपोर्ट नेपाल | 2019 Jan 23 | 11:39 am 2156

रूस, माघ ९: रूसी तथा जापानी शीर्ष नेतृत्वबीच मङ्गलबार मस्कोमा भेट भएको छ । उनीहरूको भेट विश्वयुद्धको अन्तिम समयतिर तत्कालिन सोभियत संघले नियन्त्रणमा लिएका जापानी टापूबारे दुई देशबीच रहँदै आएको विवाद समाधान गर्ने पहल स्वरूप भएको बताइएको छ ।

जापानका चार कुरिल टापूहरू, जसका कारण रूस र जापानबीच विश्वयुद्धको औपचारिक अन्त्य गर्दै शान्ति सम्झौता हुन सकेको छैन, मा केन्द्रित भएको बताइएको छ । वार्ताबाट विवादबारे कुनै ‘ब्रेकथ्रु’ भइहाल्नेमा दुवै देशका अधिकारी विश्वस्त छैनन् । किनकी रूसले युद्धबाट जितेको भनेको टापूहरूलाई सहजै फिर्ता गर्ने सम्भावना छैन भने जापानले आफ्नो भूभाग गुमेकै अवस्थामा रूससँग घुँडा टेक्ने पनि उत्तिकै अस्वभाविक मानिएको छ ।

विवादका विषयमा सन् २०१३ पछि रूसी राष्ट्रपतिका रूपमा पुटिन र जापानी प्रधानमन्त्रीका रूपमा सिन्जो आवेबीच विभिन्न अवसरमा २५ पटक भेट भएको छ । उनीहरूबीचको सहकार्य गर्ने प्रयासमा सधैँ कुरिल टापूहरू, जुन ओखोस्क समूद्र र प्रशान्त महासागरबीच रहेका छन्, नै तगारो बन्ने गरेका छन् ।

करिब सात दशकदेखि कुरिल टापूलाई मस्कोको अधिकार क्षेत्रका रूपमा मान्यता दिन अस्वीकार गरेपछि विवादले निकास नपाएको हो ।

बन्द कोठामा वार्ता शुरु हुनुपूर्व रूसी राष्ट्रपति पुटिनले आवेलाई दुवै पक्षका कूटनितिज्ञले वार्ता र शान्तिका लागि सहमतिका बिषयमा प्रशस्त काम गरेको बताउनुभएको थियो भने आवेले आफू रूससँग सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताएका थिए।

गत नोभेम्बरदेखि उनीहरूको राम्रो व्यक्तिगत तथा कूटनीतिक सम्बन्धका वाबजुद पनि दुई देशका राजधानीबाट केही दिन पहिले निस्केका विज्ञप्तिले उनीहरूबीच सम्झौता हुन अझै धेरै टाढाको बिषय हुने विश्वास गरिएको छ ।

रूसको एउटा स्वतन्त्र सर्वेक्षणमा कुरिल टापू जापानलाई फर्काउने बिषयमा ७४ प्रतिशत नागरिकले प्रस्तावको विपक्षमा देखिएका थिए भने १७ प्रतिशतले शान्ति सम्झौताका लागि रूसले जापानी भूमि फिर्ता गनुपर्ने बताएका थिए ।

तर जापानी प्रधानमन्त्रीले नयाँ बर्षको अवसरमा रूसी नागरिकले अव उनीहरूको वस्तीमाथिको अधिकार परिवर्तन हुने कुरालाई स्वीकार गर्नुपर्ने बताउनु भएको थियो । उक्त बिषयलाई लिएर मस्कोले जापानी अधिकारीको प्रस्तावको आवेगपूर्ण प्रतिक्रिया दिएको थियो ।

रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले जापानले कुरिल क्षेत्रलाई आफ्नो ‘उत्तरी भूमिका रूपमा’ लिन छोडिदिनुपर्ने भन्दै वासिङटनसँगको जापानको सैन्य गठबन्धन सहमतिका लागि बाधक बनेको बताए। “टोकियोले कुरिलमाथिको अधिकार रूसको भएको स्वीकार्नु पर्ने लाभरोभको भनाइ थियो । विश्वको एक मात्र देश जापानले किन विश्वयुद्धको परिणामलाई स्वीकार्दैन,” उनको प्रश्न थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.