काठमाडौं, कात्तिक १९: आइतबार संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट घाइते भएका एक बालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
भालुको आक्रमणबाट घाइते भएका मकालु–२ का १४ वर्षीय दावा नुर्बु शेर्पालाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरबाट काठमाडौं पठाइएको संखुवासभाका प्रहरी निरिक्षक सन्तोस राईले जानकारी दिए।
जंगलमा टिमुर टिप्न गएको बेला उनलाई भालुले आक्रमण गरेर टाउको र खुट्टामा गहिरो चोट बनाई गम्भीर घाइते भएका थिए।
घाइते शेर्पाको मकालु–५ को स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि हेलिकप्टर काठमाडौं रिफर गरिएको संखुवासभा प्रहरीले जानकारी दिए। उक्त क्षेत्रमा राष्ट्रिय निकुञ्ज भएका कारण जंगली जनावरको बिगबिगी बढेको स्थानियको भनाइ छ। निकुञ्जका जंगली भालुको आक्रमणबाट यसै वर्ष मात्र आधा दर्जन बढी घाइते भइसकेका स्थानियले बताए।