भारत लाँदै गरिएका १२ युवतीको उद्धार

रिपोर्ट नेपाल | 2020 Nov 09 | 04:10 pm 2378

पर्सा, कात्तिक २४ः  विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार गरिएको छ।

कोराना महामारीको विषम स्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लाँदै गरिएकाे सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो। हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन्।

सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनी विभिन्न जिल्लाबाट पर्साको वैकल्पिक नाका हुँदै भारतसम्म पुर्‍याइएका ती युवतीको उद्धार गरिएको बताइएको छ। ती युवतीलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक २ हजारका दरले रकम दिने भनी काठमाडौँको बालाजुबाट लगिएको थियो।

पथलैयाको जङ्गलमा पुगेपछि उनीहरुलाई समूह विभाजन गरी नेपाल भारत सिमानामा पुर्याइएको थियो । सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको हो। ती युवतीसँगै रहेका युवक पक्राउ परेका छन्।

आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले बेरोजगारीको चपेटामा परेर दैनिकी गुजार्न समस्या परेकाबाट फाइदा लुट्न मानव तस्करहरु सक्रिय भइरहेका बेला आफूहरुले उद्धारमा काम गर्न पाएकामा खुशी व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.