भारत र पाकिस्तानका सेनाबीच दोहोरो भिडन्त, भारती सेनाको दुई वटा विमान खस्यो

| 2019 Feb 27 | 01:22 pm 2036

काठमाडौं, फागुन १५ : भारतीय वायुसेनाको दुई वटा लडाकु बिमान खसालेको पाकिस्तानले दावी गरेको छ। बीबीसीका अनुसार पाकिस्तानले जम्मू काश्मीरमा र स्वशासित काश्मीरमा विमान खसालेको हो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गरेका दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेका हुन् ।यद्यपि स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

मेजर जनरल आसिफ गफूरले ट्विट गर्दै लेखेका छन् । आज बिहान पाकिस्तानी वायु सेनाको आक्रमणको जवाफमा भारतीय वायु सेनाले भारत–पाक नियन्त्रण रेखा (एलओसी) पार गर्‍यो। पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयरस्पेसभित्र दुई भारतीय विमान खसाल्यो । एक विमान आजाद जम्मू काश्मीरमा खस्यो, अर्को भारत स्वशासित काश्मीरमा । एक भारतीय पायलटलाई गिरफ्तार गरिएको छ ।

काश्मिरको बडेगामबाट ७ किलोमिटर टाढाको गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त विमान दुर्घटनामा दुई जना पाइलटको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खस्यो । त्यसलगत्तै आगो दन्केको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।

नियन्त्रण रेखाका विभिन्न क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ । सीमा क्षेत्रको कश्मीरसँग जोडिएको नियन्त्रण रेखामा लागु भएको युद्ध विराम उल्लंघन गरेको आरोप भारत र पाकिस्तानले एक अर्कामाथि लगाएका छन् ।

मंगलबार बेलुका भारतले पाकिस्तानको भुमिमा गरेको आक्रमण परी भारतीय सुरक्षाकर्मीको गोली लागेर चारजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । उक्त घटनामा भारतीय सेनाको गोली लागेर तीन महिला र एक बच्चा मृत्यु भएको हिन्दीले उल्लेख गरेको छ।

भारतले पाकिस्तानले एलओसीमा संघर्ष विराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले पनि भारतले नियन्त्रिण रेखा उल्लंघन गरेको जनाएको छ। उक्त घटनामा भारतीय सेनाका पाँच जवान घाइते भएको भारतले जनाएको छ।

कश्मीरको पुलवामामा भएको आतंकवादी हमलाको दुई साता नपुग्दै भारतले पाकिस्तानी भूभागमा मंगलबार बिहानै हमला गरेको थियो । उक्त हमलाबाट पाकिस्तानले कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको दावी गरेको छ भने भारतले सयौं मारिएको दावी गरेको थियो । कसैले ४० भन्दा बढी आतङ्ककारी मारिएको दावी गरेका छन् भने कसैले ३ सय देखि ४ सय जनाको मृत्यु भएको दावी गरेका छन्।

मंगलबार ३ः ४५ बजे भारतको वायु सेनाले पाकिस्तानी कब्जा रहेको कश्मीरमा रहेका आतंकवादी केम्पहरुमा १२ ओटा मिराज २ हजार फाइटर जेट विमानबाट बम आक्रमण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.