भारत पुर्‍याइएका १६ बालकको उद्धार

रिपोर्ट नेपाल | 2022 Sep 15 | 07:39 am 945

काठमाडाैं, भदौ ३०ः जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ ।

भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनः स्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधवार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनः स्थापना गृहका नेपालगन्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए ।

उनका अनुसार, “रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रूपमा भारत पुर्‍याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनः स्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरस्थित रेलवे स्टेसनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।”

उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांश १२ वर्षमुनिका छन् । बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर बालकलाई अभिभावकसँग पुनर्मिलन गराउने जिम्माका साथ नेपाल ल्याइएको संयोजक भट्टराईको भनाइ छ ।

उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्युरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ । अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरूलाई भारत पुर्‍याउने व्यक्तिको पहिचान हुन सकेको छैन । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.