काठमाडौं, कात्तिक ११ः प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँने भएका छन् ।
१९ गते देखि २१ गते (तदानुसार ४ देखि ६ नोभेम्बर) सम्म हुने तीन दिवसिय भ्रमणका दौरानमा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको मुख्य अंशको रुपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन् भने उनले प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग समेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।