भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भदौमा नेपाल आउने निश्चित

रिपोर्ट नेपाल | 2019 Jul 26 | 07:23 am 1571

काठमाडौं, साउन १०:  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिमसाता चारदिने नेपाल भ्रमणमा आउने निश्चित भएपछि भारतीय सुरक्षाकर्मी र बिदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् ।उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिख) सम्म हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली दुईपटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ ।
भारतीय सेनाका कर्णेलतहका अधिकारी र भारतीय कमाण्डो टोली नेपाल आएर फर्किएको बताइएको छ । उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चितताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एकचरण नेपाली अधिकारीहरुसँग भेट गरेका छन् ।दशैं अघि नै भारतका तर्फबाट उच्चस्तरिय भ्रमण हुने बलियो संकेत आएको छ, सुरक्षा निकायको उच्च स्रोतले भन्यो–कुनै कारणबस मोदीको भ्रमण भएन भने भारतीय राष्ट्रपतिको भ्रमण हुनसक्ने बुझेका छौ ।
गत जेठ दोस्रो साता पुनः प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका भारतीय समकक्षी मोदीलाई बधाई दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिएका थिए । गत जेठ १६ गते भएको मोदीको सपथग्रहणमा सहभागी भएका ओलीले समकक्षी मोदीलाई पुनः नेपाल भ्रमणको निम्तो दोहर्याएका थिए । भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ)ले यो साता गरेको नेपाल भ्रमण अन्य राजनीतिक उद्देश्यका अतिरिक्त मोदी भ्रमणको वस्तुस्थिती बुझ्ने प्रयोजनका लागि पनि भएको बताइएको छ ।
भारतको छिमेक नीतिमा नेपाल पहिलो स्थानमा रहेको दोहोर्याउँदै आउनुभएका मोदी अघिल्लो कार्यकालमा नेपालमाथिको फरक नीतिका कारण नेपालमा मात्रै नभएर भारतमा पनि विवादमा तानिएका थिए । मोदीको अघिल्लो कार्यकालमा नेपालमाथिको नाकाबन्दी र त्यसपश्चात् नेपालमा विकास भएको भारत र मोदीविरोधी भावना र अन्य ‘सुरक्षाथ्रेट’ बारे भारतीय दूतावासमार्फत ‘रिर्पोटिङ’ भइरहेको दूतावास स्रोतले जनाएको छ ।
तर मोदीको भ्रमणबारे त्यस्तो कुनै अग्रिम जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् । मोदीको अघिल्लो कार्यकालको नेपाल भ्रमणबारेको कार्यतालिका भारतीय पक्षबाटै सार्वजनिक भएकाले यसपटक पनि त्यस्तै हुनसक्ने परराष्ट्रका अधिकारीहरुको बुझाइ छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.