भारतीय निर्वाचनको पाठ सिक्ला त कांग्रेसले ?

रिपोर्ट नेपाल | 2019 May 29 | 07:05 am 2631

  • गोमा ढकाल (गोर्खा)

भारतीय निर्वाचनमा तत्कालीन प्रधानमन्त्री मोदीको पार्टी भारतीय जनता पार्टीले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको कुरालाई र त्यहाँको कम्युनिस्ट पार्टीको पत्तासाफ भएको कुरालाई नेपाली कांग्रेसका नेताहरुले मनन गर्न जरुरी छ ।

नरेन्द्र मोदीको पार्टीले चौतर्फी देशी विदेशीको अनेक आक्रामक र षडयन्त्रलाई चिर्दै बहुमत ल्याउनुमा परिवारवाद, नाता र कृपावाद नभएर जनतालाई केन्द्र बिन्दु बनाएका कारण हो । नेपालको लोकतान्त्रिक सबै आन्दोलनमा कमाण्डरमुखी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस यतिखेर किन यति कमजोर र रुग्ण रोगी जस्तै भयो त्यसको खोजिनिति गर्न जरुरी छ ।

टाउकोदुखेको औषधी नाइटोमा लगाएर निको हुँदैन भन्ने कुरालाई राम्रोसँग बुझेको कांग्रेसका नेताहरु बुझेर पनि बुझपचाएर हिडेका छन् । घरमा आगो लगाएर खरानी तापेर तातोको महसुस गर्ने नेतृत्व र डढ्न लागेको घरमा पानी हालेर निभाउनु पर्नेमा पेट्रोल छर्किने अर्काथरी नेताहरुले भारतीय निर्वाचन र मोदीको पार्टीको विषयमा विचार विश्लेषण गर्न जरुरी छ ।

घर भित्रको झगडा र कलहलाई यथास्थानमा राखी गत वैशाख २५ गते देखि नेपाली कांग्रेसले चलाएको जागरण अभियान कार्यकर्तालाई भुलभुलैयामा पार्ने काम भए पनि नेतृत्व प्रति कार्यकर्ताको सन्तुष्टी बन्न सकेका छैनन् । प्राय जिल्लामा गएका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री सशांक कोइराला लगायतका नेतालाई कार्यकर्ताले नेतृत्वमा जागरण र तिक्तता मेटाउन आग्रह गरेका थिए ।

दुई तिहाईको सराकरले गरेका गलत कृयाकलापलाई नङ्ग्याउनु पर्नेमा आफ्नै पार्टीका एक नेताले अर्को नेताको उछितो काढेपछि कसरी जागरण आउँछ ? नेपाली कांग्रेसबाट ७७ वटै जिल्लामा सुरु गरिएको जागरण अभियान कार्यकर्तालाई हौसला, उत्साह र ऊर्जा थप्नका लागि हो कि नेतालाई गाली गर्न प्लेटफर्म हो बुझ्न सकिएको छैन । नेतृत्व र केन्द्रीय स्तरका नेताले भारतीय निर्वाचनलाई निश्चय पनि नियालेको होलान् ।

यदि भारतीय निर्वाचनलाई पाठको रुपमा लिएर नेपाली कांग्रेस अघि बढ्न जरुरी छ । देश र पार्टीको भलो चिनाउँदै भावी पुस्तालाई बलियो कांग्रेस बुझाउने हो भने नेताहरुले पहिलो कुरा गुट उपगुट र सहगुटको अन्त्य गर्नुपर्छ । नेपाली कांग्रेस पछिल्लो समय फरियावाद र श्रीमतीवादको चंगुलमा फसेको छ जवसम्म वंशवादलाई निरुत्साही गर्न सकिन्न तवसम्म पार्टी उभो लाग्दैन ।

वषौंदेखि रगत पसिना बगाएर पार्टी बचाउनेलाई अपमान गरी ठेकेदारलाई टिकट बिक्री गर्ने प्रथालाई पनि कांग्रेसले निर्मुल पार्नु पर्छ । पार्टी भित्रका तस्कर र भ्रष्ट्राचारीलाई पश्रय दिने काम बन्द गरी त्यस्तालाई पार्टीबाट निश्कासन गर्ने हो भने पार्टी शुद्धिकरण हुन्छ र आम जनताले कांग्रेस हाम्रो पार्टी हो भनेर साथ दिन्छन् भन्ने कुरा पनि नेतृत्वले स्मरण गर्नुपर्छ ।

पार्टी भित्र पद र प्रतिष्ठा दिँदा नेताले आफ्ना वरिपरी घुम्ने गणेश प्रवृत्तीकालाई भन्दा गाउँ टोलमा जनतासँग भिजेका कार्यकर्तालाई प्रोत्साहन गर्ने हो भने मात्र कांग्रेस जनताको बलियो पार्टीका रुपमा स्थापीत हुनेछ । कम्युनिस्ट फुट्छन् र नेतालाई रिझाएर सदन र पार्टीको भाग खान्छु भन्ने सोच राख्ने हनुमानलाई गोर्खे लौरी लगाएर जनप्रियलाई जिम्मेवारी दिइयो भने मात्र कांग्रेसको भलो हुने कुरामा दुईमत छैन ।

नेतृत्वले गल्ती गर्दा पनि स्तुती गाएर पार्टीलाई हानी पुर्याउने दुईचार जना हनुमान रिसाउँदा हजारौं कार्यकर्ता खुसी हुन्छन भन्ने कुरा नेतृत्वले बुझ्न जरुरी छ । केन्द्रीय स्तरमा रहेका नेतालाई कार्यकर्ताबाट अनुमोदित भएर आउने प्रावधान लगायतका उल्लेख्य काम नेतृत्वले गर्यो भने भोली कांग्रेस बलियो होला नत्र भने भोलीको पुस्ताले एकादेशको कांग्रेस पढ्नेछन् र प्रजापरिषदको हैसियतमा पार्टी नपुग्ला भन्न सकिन्न । चेतना भया

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.