बारा, बैशाख २९ः विश्रामपुर गाउँपालिकाको एम्बुलेन्समा भारतीय नागरिकलाई यात्रु बनाएर बोक्ने एम्बुलेन्स चालकसहित दुईजना कारबाहीमा गरेका छन् ।
कारबाही हुनेमा एम्बुलेन्स चालक बाराको बिश्रामपुर गाँउपालिका- २ का २४ वर्षीय राजन पटेल र सोही पालिकाको वडा नं.३ का २७ वर्षीय अनिल पटेल छन् ।
उनीहरुले भारतीय ब्यक्तिलाई एम्बुलेन्समा राखी नेपाल प्रवेश गराउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बरैनियाको टोलीले पक्राउ गरेको जनाएको छ ।
भारतको पटना घर भई काठमाडौंमा बस्ने ४५ वर्षीय अमृत कुमारलाई उनीहरुले बारा विश्रामपुर गाउँपालिका-३ स्थित मुसर्वा नाकाबाट नेपाल प्रवेश गराएका थिए । एम्बुलेन्ससहित नियन्त्रणमा लिई सशस्त्र प्रहरीले प्रहरी चौकी बलिरामपुरको जिम्मा लगाएको थियो ।
भारतीय नागरिकलाई भने भारतीय समकक्षी एसएसबी ४७ बटालियन डि कम्पनीलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको इजलासले आइतबार चालक राजनसँग ७ हजार र सञ्चालक अनिलसँग २८ हजार धरौटी माग गरेको थियाे ।
दुवै जनाले धरौटी रकम बुझाएर तारिखमा छुटेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।