भारतीय नागरिकमाथि गोली प्रहार

रिपोर्ट नेपाल | 2022 Dec 02 | 01:50 pm 1029

कपिलवस्तु, मङ्सिर १६ः कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाँउपालिका–४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको हो ।

चाकरचौडासँग सीमा जोडिएको सिद्धार्थनगर जिल्लाको अलिगढवाका बिहीबार राति ३५ वर्षीय ईरशाद खानमाथि दुई गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले नेपाली सीमा क्षेत्रको चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि दुई जना अज्ञात व्यक्तिले गोली प्रहार गरेको खुल्न आएको जानकारी दिए। उनका अनुसार खानलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ ।

गोली लागेर घाइते भएका खानलाई उपचारका लागि भारतको नौगढ लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर मेडिकल कलेज लगिएको छ ।

घटनाबारे भारतीय प्रहरीसँगको समन्वयमा अनुसनधान अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसन्धान टोली घटनास्थलमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.