काठमाडौं, साउन ६ : भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख समान्तकुमार गोयल नेपाल आएका छन्। गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो ।
गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ। पाकिस्तानको बालकोटमा स्ट्राइक गर्न विशेष भूमिका खेलेका गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वापात्र मानिन्छन् ।
‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले भन्यो– ‘उहाँहरुको नेपाल बसाइ अझ लम्बिन सक्ने बुझेका छौं।’
रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको उच्च स्रोतले बतायो । सो होटलको कोठा नं ३ सय ६४ नम्बर गोयलका लागि बुकिङ भएको बताइए पनि उनी ५०३ नम्बर काेठामा बसेका थिए । उक्त कोठा गोयलले आफ्नो नाममा बुक नगरेर अरु कसैको नाममा रहेको उच्च स्रोतको दाबी छ ।
गोयल काठमाडौंमा गुपचुप आएका मिडियाहरुले समाचार व्यपक रुपमा प्रसाशण गरेपछि उनी अहिले चेक आउड गरेर होटेलबाट निस्किएका छन् । गत महिना रअ प्रमुख भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो।
उनी यसअघि पनि रअका विशेष सचिवका रूपमा कार्यरत थिए। भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ।
रअ टोलीले सत्तारूढ दलका नेता र प्रतिपक्षी नेपाली कांग्रेससहित नेतासँग पनि भेटघाट गर्ने स्रोतले जनाएको छ। नेपालका नेतासँग रअ अधिकारीहरुले होटलमै भेटवार्ता गर्ने वातावरण मिलाइएको सुरक्षा निकायले जनाएको छ। ‘रअ’का प्रमुख गोयलले नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई पनि भेट्ने जनाइएको छ ।
सरकारका मन्त्री र उच्च प्रशासकहरूलाई पनि गोयलले भेट्ने जनाइएको छ । ‘रअ’ प्रमुख गोयलको यो भ्रमणलाई भारतीय राजदूतावास लैनचौर र नेपाल सरकारले गुपचुप राखेको छ ।
‘रअ’का प्रमुख गोयलको गोप्य रुपमा भएको नेपाल भ्रमणले भारत फेरि पनि नेपाली राजनीतिमा हाबी हुन खोजेको संकेत दिएको छ । नेपालमा बढ्दै गएको चीनको प्रभावबाट झस्किएको भारतले आफूलाई रणनैतिक रुपमा मजदुब तरिकाले उपस्थिति गराउन खोजेको छ ।