भारतीय गायिका लता मंगेशकरको निधन

रिपोर्ट नेपाल | 2022 Feb 06 | 11:26 am 2193

नयाँ दिल्ली(एजेन्सी) माघ २३: भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। स्वर कोकिला भनेर चिनिने चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो।

कोभिडबाट संक्रमित भएपछि उनलाई यसै वर्ष जनवरीको सुरुमा अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनी केही हप्तादेखि आईसीयूमा थिइन्।

लता मंगेशकरले भारतमा फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी थिइन्। लता मंगेशकरलाई भारतको ‘सुर कोकिला’ भनिन्छ । उनको फिल्मी संगीत जीवन आधा शताब्दीभन्दा बढी लामो थियो। सो समयमा उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन्।

लता मंगेशकर भारतको सबैभन्दा प्रसिद्ध गायिका थिइन्। बलिउडका हरेक ठूला अभिनेत्री उनीहरुको गीत लताले गाउन् भन्ने चाहन्थे। उनको लोकप्रियता यति थियो कि उनका प्रत्येक एल्बम हजारौं बिकेका थिए।

लता मंगेशकरको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्य भारतको इन्दौर सहरमा भएको थियो । उनका पिता पंडित दीनानाथ मंगेशकर पनि गायक थिए। उनी थिएटर कलाकार पनि थिए । मराठी भाषाका संगीत नाटकहरूको निर्माता पनि थिए।

लता मंगेशकर आफ्ना पिताका पाँच सन्तानमध्ये जेठी थिइन्। पछि लताका साना भाइबहिनीहरूले पनि उनलाई पछ्याए र संगीतको संसारमा प्रवेश गरे र पछि भारतका प्रसिद्ध गायक बने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.