- बसन्त भुजेल
डा बाबुराम भट्टराईले प्रधानमन्त्री बने लगत्तै सरकारी निवासमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए– ‘आर्थिक वृद्धिदरको गतिलाई सुधार नगर्ने हो भने केही वर्ष भित्रै हाम्रो देश चीन या भारतमा विलय हुने अवस्था उत्पन्न हुन्छ ।’ यो भनाईलाई लिएर डा भट्टराईको त्यतिबेला धेरै आलोचना भयो । अहिले पनि भइरहेको छ । तर, डा भट्टराईको भनाई यथार्थ भन्दा धेरै टाढा छैन । त्यतिबेला चीन र भारत दुवै मुलुकको आर्थिक वृद्धिदर वार्षिक ८ प्रतिशतको हाराहारीमा थियो भने हाम्रो मुलुक नेपालको आर्थिक वृद्धिदर बार्षिक ३ प्रतिशतको हाराहारीमा थियो ।
चीनको जनसंख्या १ अर्ब ४० कराेड हाराहारीमा छ । भारतको जनसंख्या १ अर्ब ३५ करोडको हाराहारीमा छ । विशाल जनसंख्या भएका चीन र भारतको आर्थिक वृद्धीदर यति माथि पुगेकोमा अमेरिका तथा युरोपियन मुलुकहरु आत्तिन थालेका छन् । भोलीका दिनमा चीन र भारत महाशक्ति राष्ट्र बन्ने संकेत देखिएको अवस्थामा नेपालको हालत यस्तै रहन सक्दैन । कि त नेपालले पनि त्यही हाराहारीमा भौतिक विकास तथा आर्थिक समृद्धी हासिल गर्नु पर्छ होइन भने छिमेकीहरुले नेपाललाई कवावको हड्डी झै झिकिदिने संभावना रहन्छ ।
नेपालमा प्रजातन्त्र आएको, भारत स्वतन्त्र भएको र चीनमा समाजवादी शासन व्यवस्था लागु भएको करिव करिव एउटै समयमा हो । लोकतान्त्रिक शासन व्यवस्था मार्फत आज भारतले ठूलो प्रगति गरेको छ । समाजवादी शासन व्यवस्था मार्फत चीनले पनि ठूलो प्रगति गरेको छ । तर हामीले यो ७० वर्षको समय कस्तो खालको शासन व्यवस्था स्थापना गर्ने ? भन्ने बिवादमै खेर फाल्यौं ।
शासन व्यवस्था भनेको साध्य होइन शासन मात्रै हो । पूर्वाधार विकास तथा अर्थिक समृद्धीका लागि लोकतन्त्र नै चाहिन्छ भन्ने रहनेछ , यो कुरा चीनले सिद्ध गरिसकेको छ । कम्युनिष्ट शासन व्यवस्था नहुँदा पनि मुलुकले आर्थिक समृद्धी हासिल गर्दोरहेछ भन्ने कुरा भारतले सिद्ध गरिसेकेको छ । तर, हामी यो ७० वर्षको अवधी सम्म तीन समुहमा लागेर द्वन्द्व गर्यौं । एकथरीलाई भारतको जस्तै शासन व्यवस्था चाहियो । अर्काथरीलाई चीनको जस्तै शासन व्यवस्था नभई भएन । तेस्रो थरीलाई निरंकुश राजतन्त्र नभई भएन । यही त्रिपक्षीय संघर्षका कारण हामी चुक्यौं । न त चीनको जस्तो, न त भारतको जस्तो , आ–आफ्नै देशको माटो सुहाउँदो शासन व्यवस्था कायम गर्ने भन्दै तत्कालिन राजा महेन्द्रले पञ्चायती व्यवस्था स्थापना गरे । जननिर्वाचित सरकार संसद विघटन गरी शासन सत्ता आफ्नो हातमा लिएकोमा राजा महेन्द्रको धेरैले आलोचना गर्छन । यो स्वभाविकै हो, तर महेन्द्रको कार्यकाल भरी पञ्चायती व्यवस्था मार्फत मुलुकले निकै राम्रो प्रगित हासिल गरेको थियो ।
प्रजातन्त्रलाई पनि सँगसँगै लान सकेको भए बास्तवमा राजा महेन्द्रको शासनकाल नेपालका लागि सुवर्ण युग नै सावित हुने थियो । तर यो मामिलामा राजा महेन्द्रले ढंग पुर्याउन सकेनन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भनेका छन् । दूरदर्शी राजनेता वीपी कोइरालाले नेपालको राष्ट्रियता जोगाउने एक मात्रै कडी राजसंस्था हो भनेका छन् । नेपाललाई कुनै विदेशीले लिन खोज्यो भने सर्वप्रथम राजसंस्था समाप्त पार्ने वीपीको दृष्टिकोण थियो । यो अभ्यास विश्वका धेरै मुलुकमा देखिएको छ । पहिले राजतन्त्र समाप्त गरिएका छन्, त्यस पछि सार्वभौमिकता समाप्त गरिएका उदाहरण धेरै छन् । कश्मिर र सिक्कीम पछि भारतले नेपाललाई पाइपलाईनमा राखेको विश्लेषण गर्दै २०३३ सालमा वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । विदेशी षड्यन्त्र विरुद्ध राजा र जनता मिलेर संघर्ष गर्नु पर्ने वीपीको मान्यता थियो । राजा र जनताबीच द्धन्द गराएर मुलुकलाई कमजोर बनाउने खेल भारतले निरन्तर जारी राख्दै आएको छ । अब राजतन्त्र छैन । अब भारतले द्धन्द उत्पन्न गराउने भनेको जनता–जनताबीच नै हो । एउटा समुदाय र अर्को समुदायवीच, एउटा जाती र अर्को जातीवीच द्धन्द गराउने चरणमा भारतको नेपाल नीति प्रवेश गरेको छ । हामी नेपाली सचेत हुने भनेको यही मामिलामा हो ।
दक्षिण पूर्वी एशीयाका करिव ६ सय वटा मुलुकहरुमा बेलायती साम्राज्य कायम भयो । यी ६ सय मध्ये केही मुलकमा त त्यतिबेलै करोडौं जनसंख्या थियो । धनी थिए । सैन्य शक्तिले सम्पन्न थिए तर पनि आफ्नो सार्वभौमिकता टिकाउन सकेनन् तर नेपाल सँग भने सन्धी गर्न बेलायत वाध्य भयो । पटक– पटक युद्ध लडेको शत्रुलाई मित्रमा परिणत गरी लाभ लिन सकिने निचोडमा ब्रिटिशहरु किन पुगे ? भन्ने प्रश्नको जवाफ जटिल छैन । तर, भारतका अहिलेका शासकहरुले यो कुरा नवुझेका हुन् कि बुझ पचाएका हुन् ? आश्चर्यको विषय बनेको छ । एकातिर करिव १ लाख नेपालीहरु भारतीय सेनामा भर्ती भएर पाकिस्तान तथा चीन सँगको सीमा सुरक्षामा योगदान पुर्याइ रहेका छन् । अर्कातिर भारतले करिव १७ सय किलोमिटर लामो नेपाल सँगको सीमाना सुरक्षाका लागि एक सुका पनि खर्च गरिदिनु परेको छैन । नेपालीहरुले नै पहरेदारी गरिरहेका छन् ।
यो सुमधुर सम्वन्धलाई अझ प्रगाड बनाउनुमै भारतको हित छ । तर भारतीय शासकहरु निहु खोजिरहेका छन् । किन ? कतै उनीहरुको मति भ्रष्ट भएको त होइन ? कुनै तेस्रो शक्तिले खेलाई रहेको त छैन ? भन्ने प्रश्न उठेका छन् । नेपालसँग द्धन्द अझ वढ्यो भने भारत केही वर्ष भित्रै हारितन्नम राष्ट्र हुन्छ । यदी मित्रताका साथ अघि बढ्यो भने हिँजो जसरी अंग्रेजहरुले आधा विश्व जितेका थिए त्यसै गरी भारत छिटै नै विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश हुने छ । नेपाललाई खान सक्छु कि भन्ने सोच नराख्नुमै भारतको कल्याण छ । कति बेला फल झर्ला र खाउँला भनेर स्याल साँडेको पछिपछि कँुदे जस्तै हो भारतको नेपाल प्रतिको रवैया भनेको । क्रमशः
(भुजेल गाेर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)