भारतलाई हराउँदै नेपाल साफ यु-२० महिला फुटबल प्रतियाेगिताकाे फाइनलमा

| 2023 Feb 07 | 06:26 pm 1609

काठमाडौं, माघ २४ः नेपाल साफ यु-२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।

ढाकामा आज भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। नेपालका लागि अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरे। भारतका लागि अपूर्णा नार्जारीले सान्त्वना गोल गरिन्।

खेलको २१ औँ मिनेटमा भारतकी अपूर्णाले गोल गर्दै आफ्नो टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर खेलको दोस्रो हाफमा भने नेपालले तीन गोल गर्‍यो।

खेलको ४८ औँ मिनेटमा नेपालका लागि चन्दले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्‍याइन्। खेलको ६९औँ मिनेटमा कप्तान राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २-१ को अवस्थामा पुर्‍याइन। खेलको ८९औँ मिनेटमा नेपालकी कार्कीले तेस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाइन्। प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान सहभागी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.