भारतमा तीन नेपाली मजदुरको हत्या

रिपोर्ट नेपाल | 2019 Oct 28 | 07:17 am 1869

बैतडी, कात्तिक ११: भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ। हत्या हुनेमा बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुरचौंडी–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहरा रहेका छन् ।

उनीहरुको गत कात्तिक ८ शुक्रबार हत्या भए पनि आइतवार मात्रै जानकारी भएको जिल्ला समन्वय समितिका बैतडीका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए।

बोहराका अनुसार उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको खबर प्राप्त भएको बताए। हरे र बीरा सहदोर दाजुभाइ हुन्। उनीहरु पिथौरगढको सिलौल मड भन्ने ठाउँमा डेढ वर्ष यतादेखि मजदुरी गर्दै आइरहेको परिवारले जनाएको छ।

हरे बोहराकी श्रीमती किर्रा बोहरा फरार रहेकीले घटनामा उनको संलग्नता हुन सक्ने आशंका गरिएको उपप्रमुख बोहराको भनाइ छ।

मृतकहरुको शव पिथौरागढ जिल्ला अस्पतालमा राखिएको र सोमबार बिहानै आफन्तहरु पिथौरागढ जाने जनाइएको छ। बीरा केही महिनाअघि मात्रै दाजुभाउजुलाई भेट्न भनेर पिथौरागढ गएको र उतै मजदुरी गर्दै आएका बुझिएको छ ।

तीनै जनाको सामूहिक हत्या भएकाले कसले गरेको हो भन्ने बारेमा विस्तृत विवरण भने खुल्न सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.