कञ्चनपुर, मंसिर १ः भारतबाट नगद तथा अन्य सामान चोरीगरी नेपालमा लुकिछिपी बसेका दुई जनालाई सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १ फटैयाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलाली जिल्लाको लम्किचुहा नगरपालिका १ बस्ने ३८ वर्षीय विष्णु शाही रहेका छन् ।
उनीहरुले भारतको बैङ्गलोरमा काम गर्ने गरेको घरबाट नगद तथा अन्य सामानहरु चोरीगरी यही कार्तिक २५ गते नेपाल आएर लुकिपछि बसेको भन्ने विशेष सुचना पाएसँगै उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वास र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आँपतालबाट खटिएको सशस्त्र प्रहरीले लालचन्द्र शाही ठकुरीको घरमा उनीहरु दुवै जनालाई पक्राउ गरेको हो ।
त्यसवेला उनीहरुको साथबाट भारतीय रुपैयाँ ४३ हजार ९ सय, हङकङ डलर ४०, थाईल्याण्ड भाट १ हजार २ सय ६०, यूएस डलर १ हजार ५, क्यानडियन डलर २ हजार ८ सय १०, मलेसियन रिङ्गिट २३, सिङ्गापुर डलर १८, कतारी रियाल १, दुबई दिराम १ सय ३०, चाईनीज युवान १ सय ६१, ल्यापटप ४ वटा, सुन जस्तो देखिने पहेला धातु पत्थर नभएको ३७ तोला ११ आना, पहेलो धातु पत्थर नभएको १ सय २६ तोला २ आना तथा पत्थर १ किलो ९ सय ९८ ग्राम फेला पारिएको हो ।
सशस्त्र प्रहरीले पक्राउ परेका दुवैजनालाई बरामद नगद तथा सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाएको छ ।
लागूऔषधसहित पक्राउ
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ कनवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले एक्जिप्लो १३ बोतलसहित सोही जिल्लाको गौशला
नगरपालिका ८ बस्ने २८ बर्षीय राकेश साह कलुवारलाई पक्राउ गरेको छ । भारतबाट ज ८ प ६१११ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका कलुवारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका कलुवारलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।