भारतबाट फर्किनेमा कोरोना

रिपोर्ट नेपाल | 2023 Mar 28 | 07:25 am 1485

बैतडी, चैत १४ः भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखापर्न थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकामा संक्रमण देखिन थालेको हो ।

सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकामा नियमित रूपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ । यहाँका सीमानाकामा परीक्षण गर्दा दैनिक रूपमा कोरोना संक्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । चैत महिना सुरु भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

‘यो महिना कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमित सबै भारतबाट फर्किएका रहेका छन्,’ उनले भने, ‘भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि सीमा क्षेत्रमा जोखिम बढेको छ ।’ भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक रूपमा स्वदेश फर्किनेको क्रम पनि बढेको छ । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको संख्या पनि बढ्दै गएको छ ।

नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको संख्या बढेकाले संक्रमणदर पनि वृद्धि भएको जोशीले बताए । नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ ।

भारतमा संक्रमण तीव्र रूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीको भनाइ छ । भारतका विभिन्न कोरोना संक्रमण देखिन थालेकाले त्यसको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिन थालेको हो । उनले भने, ‘भारतमा दिन प्रतिदिन संक्रमण फैलिरहेकाले त्यसको प्रभाव यहाँ पनि परेको छ, सुदूरपश्चिम प्रदेश पनि जोखिममा छ ।’

जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ । सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत कोरोना परीक्षणको काम भइरहेको छ । संक्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको छ । प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ ।

भारतमा संक्रमण देखिएका सहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिममा नै त्यसको प्रभाव पर्न जाने भएकाले सतर्कता अपनाई स्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी छ ।’

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४४ हजार ४ सय ५४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार ९ सय २७ जनामा संक्रमण भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा ६ सय ३५ जनाको ज्यान गइसकेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.