विरगन्ज, फागुन ८ : भारतीय आयल कर्पोरेशन (आईओसी)को रक्सौल डिपोबाट पेट्रोल र डिजल भररेर आएका ट्याङ्करमा पानी र लेदो भेटिएको छ । आईओसीबाट तेल भरेर आएका प्रत्येकजसो ट्याङ्कीमा पानी र लेदोको मात्रा अत्यधिक पाइएको हो ।
ना २ ख ३८४० नम्बरको ट्याङ्करका चालक मनोज ठाकुरले रक्सौलबाट तेल भरेर वीरगञ्ज ल्याएर नेपाल आयल निगमको कर्मचारीकै अगाडि चेक गर्दा डिजलमा पानी देखिएको बताए । हामीले सँधै जस्तै रक्सौलबाट डिजल ल्यायौं, तर वीरगञ्जमा आएर डिजल निकालेर हेर्दा डिजलमा पानीको मात्रा देखियो,’ उनले भने ‘ यस्तो कहिले पनि भएको थिएन । आज देखिएको छ । ‘
उनले श्री आयल वीरगञ्ज, जीतपुरको गोदावरी आयल र वैदेही आयलका लागि डिजल ल्याएका थिए । तर डिजलमा गडबडी देखिएपछि आयल निगमको वीरगञ्ज कायालय अगाडि ट्याङ्कर राखेर बसेका छन् ।
उनको जस्तै रक्सौलबाट तेल भरेर आएका ना २ ख ७०३७, ना ७ ख ६५१५, ना २ ख ५०३९, ना ८ ख १३६५, ना २ ख ८३५९, ना ७ ख ६६९० लगायतका दर्जनौं गाडी त्यसैगरी आयल निगमको वीरगञ्ज स्थित कार्यालय वरपर नै राखिएको छ ।
केहि दिनअघि मात्रै जिल्ला डिजलमा मिसावट गरेपनि जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको अनुगमन टोलीले बोलबम पेट्रोल पम्पमा शिलबन्दी गरेर नमुना परीक्षणका लागि सम्बन्धित कार्यालयमा पठाएको थियो । त्यसपछि पेट्रोलियम ढुवानी व्यवसायी र पेट्रोल पम्पका सञ्चालकहरु सजग भएका हुन् । सोमबार ल्याइएको पेट्रोल डिजलमा पनि त्यस्तै समस्या देखिएको उनीहरुको गुनासो छ ।
डिजल र पेट्रोल दुवैमा समस्या देखिएपछि पेट्रोलियम ढुवानी व्यवसायी र पेट्रोल पम्पका सञ्चालकहरुले जिल्ला प्रशासन कार्यालय र आयल निगमको वीरगञ्ज स्थिति कार्यालयमा गुनासो समेत गरे ।
जिल्ला प्रशासन कार्यालय पर्साका साहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले अनुगमन गर्दा पनि तेलमा पानी र लेदो मिसिएको निष्कर्ष निकालेको छ ।
प्राविधिक परीक्षणका लागि टोलीले तीन/तीन वटा छुट्टा छुट्टै बोतलमा सिल लगाएर डिजल र पेट्रोलको सेम्पल लिएको छ ।
‘आईओसी र एनओसीबीच भएको सम्झौताका कुरामा हामीले बोल्न मिल्दैन, व्यवसायीहरुको गुनासोका आधारमा हामीले परीक्षणका लागि सेम्पल लिएका छौं,’ उनले भने । नेपाल आयल निगम वीरगञ्ज शाखा कार्यालयका अनुसार बारा पर्सामा सञ्चालित पेट्रोल पम्पका लागि आज रक्सौल डिपोबाट २१ ट्याङ्कर डिजल र १० ट्याङ्कर डिजल भरिएको छ । बारा पर्सामा १ सय ४० को हाराहारीमा पेट्रोलपम्प सञ्चालनमा छन् ।
आयल निगमको वीरगञ्ज कार्यालयका प्रमुख जगदिश प्रसाद यादवले भने आइओसीले रक्सौलमा ट्याङ्की सफा गरेका कारण त्यस्तो समस्या देखिएको जानकारी आफूले पाएको बताए । राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसियसनका केन्द्रीय सदस्य अनिल सिंहले आफूहरुले फोहोर र लेदोको पनि पैसा तिर्नुपर्ने अवस्था आएको बताए । ‘आयल निगमले कुनै समस्या हुँदैन भन्छ, कुनै ग्राहकको सवारीमा त्यस्तो तेल पर्यो भने कारबाहीको भागीदार हामी नै बन्नुपर्छ,’ उनले भने ।