सुनसरी, असार २८: देशभर लगातार पानी परिरहँदा सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिन्छ ।
प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले दिएकाे जानकारी अनुसार शनिबार अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको बताए।
अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जानकारी दिए ।
वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।
यसैबीच शनिबार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।