भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि

| 2021 Feb 08 | 07:53 am 2949

बैतडी, माघ २६ः दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो ।

पोस्टमार्टममा संलग्न चिकित्सकले बलात्कारपछि उनको हत्या भएको रिपोर्ट प्रहरीलाई दिएको प्रहरी स्रोतले भनेको छ । स्रोतका अनुसार उनले प्रतिकार गर्दा टाउको र हातमा चोट लागेको, घाँटीमा पनि निलडाम देखिएको, यौनांगमा पनि घाउ रहेको पाइएको छ ।

‘हिजोसम्म हामी हत्या मात्रै वा बलात्कारपछि हत्या भन्ने कुरामा द्विविधामा थियौं । अब बलात्कारपछि हत्या भन्नेमा पुग्यौं,’ प्रहरीले भने । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पनि घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बलात्कारपछि हत्या भएको निष्कर्षसहित अनुसन्धान गरिरहेको बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.