बैतडी, माघ २६ः बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विरोधमा बैतडीमा शैक्षिक हडताल गरिएको छ । विद्यालयबाट घर फर्किरहेका बेला बाटोमा विभत्सरुपमा हत्या भएको विरोधमा तीन दिन शैक्षिक हडताल गरिएको हो ।संघर्ष समिति गठन गर्दै तीन दिनका लागि शैक्षिक हडताल गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिए । आइतबारदेखि मंगलबारसम्म तीन दिन गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्दै शैक्षिक हडताल गरिएको हो ।
संघर्ष समितिले गरेको शैक्षिक हडतालअनुसार नै गाउँपालिकाका सबै विद्यालय बन्द रहेका सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए । विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भए पनि शान्तिपूर्णरुपमा पठनपाठनको वातावरण बन्न नसकेको उनका भनाइ छ ।
संघर्ष समितिले पहिलो चरणमा तीन दिन शैक्षिक हडताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आमहडताल गर्ने घोषणा गरेको छ । यसअघि शुक्रबार र शनिबार पनि आफन्त र स्थानीय बासिन्दाले महाकाली राजमार्गमा चक्काजाम गर्नुका साथै प्रदर्शन गरेका थिए ।
माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीबार घरनजिकै रहेको लबलेक जंगलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो । नेपाल समाचारपत्रबाट