सिन्धुली, माघ २३ः विहीबार दिउँसो घरायसी विवादमा भाइले बञ्चरो प्रहार गरी दाजुको हत्या गरेका छन्। हत्या आफ्नै भाइ मरिण गाउँपालिका ३ मथौलीका गणेश भनिने मानबहादुर बम्जनले आफ्नै दाजु ४८ वर्षीय चेतबहादुर बम्जनको बञ्चरो प्रहार गरी, खुकुरीले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बाबुआमासँग आफ्नै घरमा आएर बसेका दाजुलाई घरमा जा मेरो घरमा किन आएको भन्दै भाइले लखेट्न खोजेको र नगएपछि पछाडीबाट बञ्चरोको पासोले हिर्काएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष पोखरेलका अनुसार भाइले दाजुलाई बञ्चरो प्रहार गरी खुकुरीले घाँटीसमेत रेटेर हत्या गरेका छन् । प्रहरीका अनुसार दाजुभाइ मदिरा सेवन गर्ने र दैनिक जग्गाका निहुँमा झगडा गरिरहने गर्दथे ।
दाजुको हत्या गरेको आरोपमा भाईलाई गएराती नै पक्राउ गरिएको पोखरेलले बताए । उनका अनुसार शुक्रबार म्याद थप गरी अनुसन्धान थालिने भएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ ।