बाजुरा, वैशाख २२ जिल्लास्थित हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढ्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहका अनुसार मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताए। मृतक बुढाको १८ गते मृत्यु भएको हो । हिमालीको क्युडी र पाडीगाउँमा रहेका सबै परिवारका सदस्य भाइरल ज्वरोको प्रकोपमा रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख सिंहले मौसमी परिवर्तनका कारण मानिसमा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेको जनाए ।
रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली क्युडीगाउँमा गएर ९३ भन्दा बढीको उपचार गरेको प्रमुख सिंहले बताए । रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म दुई स्वास्थ्यकर्मी गाउँमै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
प्रभावित क्षेत्रमा हाल एक अहेब र एक अनमी गाउँमै उपचार गरिरहेको छन्, थप जटिल समस्या आएमा अरु स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य कार्यालयले जानकारी दिए।