बैतडी, जेठ १८ः डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानबाट २ थान भरूवा बन्दुक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका-४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्र बहादुर बिष्ट रहेका छन् । प्रहरी चौकी धामीगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई चौसालको जंगलबाट २ वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
वन कार्यालयसँग समन्वय गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
झापा, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई चोरी भएको ४ थान मोटरसाइकल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-५ बस्ने २१ वर्षीय चन्द्र कुमार योङवा र २० वर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङ रहेका छन् ।
दमक नगरपालिका-६ नेपालीरिका होटल अगाडि पार्किङ गरी राखेको सोही नगरपालिका-४ बस्ने सुमन खड्काको मे. ११ प ५५१२ नम्बरको मोटरसाइकल शुक्रबार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खोजी गर्ने क्रममा शुक्रबार बिहान सोही नगरपालिका-६ शंखधर चोकमा उनीहरूले उक्त मोटरसाइकल चलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धान गर्ने क्रममा उनीहरूले थप ३ वटा मोटरसाइकलहरु विभिन्न स्थानबाट चोरी गरेको भन्ने खुल्न आएको छ । चोरी भएका प्र.१-०१-०१५ प ८६९० नम्बर, प्र.१-०१-०१४ प १२४० नम्बर, मे ८ प ९२९७ नम्बरका मोटरसाइकल पाँचथर मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले फेला परी बरामद गरेको छ ।
उनीहरू उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।
कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० बोसिगाउँ बस्ने उदयपुर ताम्लिछा घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् । सोही नगरपालिका-३ ढाल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो । साथै मृतकको झोलाबाट नियन्त्रित लागूऔषध डाईजापाम ३१ एम्पुल, फेनारगन ६४ एम्पुल र नुरफिन ७२ एम्पुल प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।