भरतपुर महानगरले सुरु गर्‍यो ‘स्मार्ट सिटी’को काम

| 2019 Jan 06 | 07:50 am 1789

चितवन- भरतपुर महानगरपालिकाले ‘स्मार्ट सिटी’को काम थालेको छ । महानगरले घरधुरी सर्वेक्षणका लागि गणक खटाएको छ । भरतपुर महानगरका २९ वडामा घरधुरी सर्वेक्षणका लागि एक सय पाँचजना गणक खटिएका छन् । वडाको जनसंख्याका आधारमा गणकहरू खटिनेछन् । महानगरले १८ फागुनसम्म घरधुरी सर्वेक्षण सक्ने लक्ष्य लिएको छ ।

घरधुरी सर्वेक्षण गर्दा गणकहरूले एक सयवटा प्रश्नको जवाफ लिनेछन्, जहाँ पेसादेखि जमिनसम्म, सरसफाइदेखि कमाइसम्मका सम्पूर्ण पारिवारिक विवरण लिइनेछ । सोही सर्वेक्षणका आधारमा तयार पारिएको प्रतिवेदनअनुसार सहरी विकास मन्त्रालयले स्मार्ट सिटीको अवधारणा अघि बढाउनेछ । २० वटा सहरलाई स्मार्ट सिटी बनाउने मन्त्रालयको योजनामा भरतपुर महानगर पनि परेको हो ।

छिटै स्मार्ट सिटी : मेयर दाहाल

भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने काम सुरु भएको जानकारी दिँदै मेयर रेणु दाहालले छिट्टै नै स्मार्ट सिटीको अवधारणालाई सार्थक बनाउने बताइन् ।
‘गणकहरूले घरघुरी सर्वेक्षण गर्नेछन् । सर्वेक्षणपछि आएको प्रतिवेदनका आधारमा स्मार्ट सिटीका योजना अघि बढ्नेछन्,’ दाहालले भनिन्, ‘सहरी विकास मन्त्रालयले भरतपुरलाई स्मार्ट सिटी बनाउन चालेको कदमलाई हामी साकार पार्नेछौँ ।’

वन तथा वातावरण मन्त्रालय वातावरण विभाग र भरतपुर महानगरपालिकाबीच हरितपार्क निर्माण गर्ने सम्झौता भएको छ । सम्झौतापछि मेयर रेनु दाहालले सम्झौताले भरतपुर महानगरपालिकालाई हरियाली बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

सम्झौतापत्रमा वातावरण विभागका महानिर्देशक झलकराम अधिकारी र भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् । अधिकृत सुवेदीले कुन ठाउँमा कति क्षेत्रफलमा हरितपार्क निर्माण गर्ने भन्ने निर्णय भइनसकेको बताए । उनले १५ वर्षका लागि सम्झौता भएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.