चितवन, साउन ९ः चितवनको भरतपुर केन्द्रीय अस्पतालले आइतबारबाट ओपीडी सेवा निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिले शुक्रबार निर्णय गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी टिकटमा लाग्दै आएको सेवा शुल्क मिनाहा गरेको हो। अस्पतालले ओपीडी टिकटमा ३० रुपियाँ शुल्क लिँदै आएको थियो। महिला र स्वास्थ्य बीमा भएकालाई ओपीडी टिकट पाँच वर्षदेखि निःशुल्क थियो। बाँकी बिरामीलाई पनि आइतबारदेखि निःशुल्क गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए।
आइतबारदेखि अस्पतालको टिकट काउन्टरमा नगद कारोबार नहुने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बताए। उजले भने, “पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटोछरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको हो।”
बिहान ७ बजेदेखि दिउँसो अबेरसम्म बिरामीको भीड लाग्ने तर अब टिकटमा शुल्क नलाग्ने भएपछि चाप कम हुन्छ हुने उनले बताए।
डा. पौडेलका अनुसार अस्पतालमा दैनिक एक हजार सात सयको हाराहारी बिरामीले ओपीडी सेवा लिने गरेका छन्। तीमध्ये करिब पाँच सय जना बिरामीले शुल्क तिरेर टिकट काट्दै आएका थिए। ओपीडी टिकटमा ५० प्रतिशतभन्दा धेरैले निःशुल्क सेवा लिने भएपछि बाँकीलाई किन पैसा लिने भनेर पनि निर्णय गरेको मेसु पौडेलले बताए। सरकारी अस्पतालमा निःशुल्क ओपीडी सेवा नेपालमा अन्य स्थानमा भएको आफूले जानकारी नपाएको उनले बताए। गाेरखापत्र दैनिकबाट