झापा, असार १०: भद्रपुर नगरपालिकाको कार्यालयमा रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको छ । नगरपालिकामा फेला परेको रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम नेत्र चन्द विक्रम नेतृत्वको विप्लव समूहले राखेको झापाका प्रहरी, प्रशासन प्रमुखको दाबी छ । मङ्गलवार आवहन गरेको नेपाल बन्दलाई सफल बनाउन सदरमुकामै बम राखेको हुन सक्ने आशङ्का प्रहरी, प्रशासन प्रमुखले गरेका छन् ।
मेयर तथा उपप्रमुखको कार्य कक्ष चढ्ने सिँढीको तल कालो ब्यागभित्र रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम राखिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । भद्रपुर वडा नम्बर ५ स्थित भद्रपुर बजारमै रहेको नगरपालिकाभित्र बम फेला परेपछि स्थानीयमा खैलाबैला मच्चिएको थियो । बम फेला परेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले स्थानीयलाई सुरक्षित स्थानतर्फ जान लगाए । करिब तीन घण्टा भद्रपुरको मुख्य सडक अवरोध भएको थियो ।
तीन पटकमा बम निश्कृय
नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको जानकारी चाराआलीस्थित कालीबहादुर गणबाट नेपाली सेनाका मेजर सन्तोष थापाको नेतृत्वमा बम डिस्फोजल टोली आई । शङ्कास्पद वस्तु फेला परेको करिब ४५ मिनेट भित्रै सेनाको बम डिस्फोजल टोली घटनास्थल पुगेका थिए । राती करिब १० बजेदेखि सेनाको टोलीले बम निश्कृय पार्ने काममा लागे । कालो ब्यागलाई नगरपालिकाबाट निकालेर सुरक्षति स्थान तर्फ लगे ।
त्यहाँ लगेर सेनाको टोलीले १० बजेर ५६ मिनेटमा शङ्कास्पद कालो ब्यागलाई विस्फोट गराइयो । पहिलो पटकको विस्फोटपछि ब्याग च्यातिएर प्रेसर कुकर बाहिर आयो । प्रेसर कुकर बम निस्कृय नभएपछि ११ बजेर १५ मिनेटमा फेरि दोस्रो पटक विस्फोट गराइयो । तरपनि बम निश्कृय भएन । त्यसपछि सेनाले तेस्रो पटक ११ बजेर ५० मिनेटमा विस्फोट गराएर बम निश्कृय पारेका थिए । सेनाका मेजर थापाले रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बमभित्र ६ वटा डेटोनेटर रहेको पुष्टि गरे ।