नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै दुई छिमेकी मुलुकहरुको भ्रमण गर्ने भएका छन् । अध्यक्ष प्रचण्डले आगामी भदौमा भारत र असोजमा चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको नेकपा सुत्रले जनाएको छ ।
सुत्रले जनाएअनुसार आगामी भदौ २२ देखि २७ सम्म भारतको र असोज १ मा साताव्यापी चीन भ्रमणका लागि अध्यक्ष प्रचण्ड बेइजिङ जानेछन् । यसअघि पहिले भारतको भ्रमण गर्ने कि चीनको भन्नेमा उनी दुविधामा रहँदै आएका थिए । प्रचण्डले पहिले चीनको भ्रमण गरुन् अनि मात्र भारत आउन् भन्ने चाहना भारतीय पक्षले राखेको र चीनले पनि पहिले भारत गएर मात्र प्रचण्ड चीन आउन् भन्ने चाहेको चर्चा चल्दै आएको परिवेशमा पहिले भारत र त्यसपछि चीन जाने कार्यक्रम तय भएको स्रोतले जनायो । पहिले अर्को देश गएर आफ्नोमा आउँदा छिमेकीको कुरा बुझ्न पाइने सोचका कारण पहिले भारत जाउन्् भनी चीनले र पहिले चीन गएर आउन् भनी भारतले चाहेको कुटनीतिक वृत्तमा चर्चा छ । तथापि, नेकपाको एउटा तप्काले चाहिँ चीन र भारत दुवैले पहिले आफ्नै मुलुकबाट प्रचण्डले भ्रमण कार्यक्रम शुरु गरुन् भन्ने चाहेको चर्चा पनि चलाउँदै आएको थियो ।
एमाले र माअोवादीबीच एकतापछि प्रचण्डको यो पहिलो राजनीतिक भ्रमण हुनेछ । भारत भ्रमणका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा छलफल गर्ने बताइएको छ । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम तय भएको बताइन्छ ।
यसअघि पछिल्लो पटक दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले भारत र चीनको भ्रमण गरेका थिए । भारतको गोवामा भएको विमस्टेक सम्मेलनमा तत्कालीन प्रधानमन्त्रीका रुपमा सहभागी प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जीनपिङ एकै ठाँउको बसेको दूर्लभ तस्वीर सार्वजनिक भएको थियो भने यसअघि गत जेठमा प्रचण्डले विकासका मोडलका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला कुराकानी गरेको भन्दै उनले समय लिएर विकासका एजेण्डामा कुराकानी गर्न आउन निम्तो दिएको पनि बताएका थिए ।
यस्तै, साउन दोस्रो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले प्रचण्डसँग भेटवार्ता गरि चीन भ्रमणको निमन्त्रण दिएका थिए ।