चितवन, असार १७: चितवनको भण्डाराबाट प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । प्राप्त समाचार अनुसार विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले २ सय २० केजी गाँजा सहित एक ट्रीपर र त्यस्का चालकलाई पक्राउ गरेको छ ।
जिल्लाको राप्ती नगरपालिका ४ स्थित भवानीपुरको (लाहुरेचोकबाट) ना ४ ख २२९५ नम्बरको ट्रीपरमा लोड भएको २ सय २० केजी गाँजा सहित ट्रिपरसहित चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का २४ वर्षीय सौगात श्रेष्ठलाई अवैध गाँजासहित पक्राउ गर्न प्रहरी सफल भएको हो ।
इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक बसन्त आचार्यका अनुसार बरामद गरिएको गाँजा, ट्रिपर र चालकलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।
बितेका केही दिनमा ईलाका प्रहरी कार्यालय भण्डाराले झण्डै ४ सय केजी गाँजा बरामद गरिसकेको छ ।