ब्रोडब्यान्ड परियोजनाको ९९ प्रतिशत काम सम्पन्न

| 2022 Feb 25 | 08:42 am 1757

काठमाडाैं, फागुन १३ः नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेको मुलुकका विभिन्न सार्वजनिक निकाय तथा स्थलमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना अन्तर्गत हालसम्म ९९.३५ प्रतिशत भौतिक काम सम्पन्न भइसकेको जनाएको छ । माघ मसान्तसम्म लक्ष्यको ९९.३५ प्रतिशत भौतिक काम सम्पन्न भएको र यसको वित्तीय लक्ष्य भने ७४.२८ प्रतिशत रहेको बताइएको छ ।

यसका निमित्त हालसम्म ४ अर्ब २१ करोड ५१ लाख ६४ हजार ५९७ रुपैयाँ खर्च भएको जानकारी प्राधिकरणले दिएको छ, जबकि सेवाप्रदायक कम्पनीहरूसँग ५ अर्ब ६७ करोड ४६ लाख ९१ हजार २७६ रुपैयाँ बजेट सम्झौता गरिएको थियो ।
प्राधिकरणका अनुसार ग्रामीण दूरसञ्चार बिकास कोष परिचालन गरी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १६ वटा प्याकेजमार्फत ७० जिल्लाका तोकिए बमोजिमका स्थानहरूमा शतप्रतिशत कार्य सम्पन्न भएको छ । यस्तै, एउटा प्याकेज मार्फत अन्य चार जिल्लाहरूमा तोकिए बमोजिमका स्थानहरूमा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरण प्रवक्ता सन्तोष पौड्यालले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म जडान कार्य सम्पन्न भएका परियोजनामध्ये हालसम्म ७ वटा परियोजनाको अनुगमन तथा प्रमाणिकरणको काम सम्पन्न भएको छ ।

यस्तैगरी एक परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताबाट फेज एक अन्तर्गतको कार्य सम्पन्न भएको छ भने अन्य तीनवटा परियोजनाहरूको फेज दुई अन्तर्गत अनुगमन तथा प्रमाण्ीाकरणको कार्य भई प्रतिवेदन प्राप्त भएको छ । प्रवक्ता पौड्यालका अनुसार अन्य तीन परियोजनाको फेज थ्री अन्तर्गतको अनुगमन तथा प्रमाण्ीाकरण कार्यको लागि परामर्शदातालाई कार्यादेश जारी गरिएको छ ।

प्राधिकरणका अनुसार सम्झौता भएका १८ प्याकेज साइटमध्ये मुलुकभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान कार्य सम्पन्न भइसकेका छन् । देशका ७ सय २ स्थानीय तहको कार्यालयमध्ये ६ सय ९७ मा इन्टरनेट जडान भइसकेको र अन्य पाँच तहमा पु-याउने क्रममा रहेको जनाइएको छ ।

देशभरका ५ हजार ९ सय ३३ वडा कार्यालयमध्ये ५ हजार ८ सय ३३ वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान भएको र १ सय वडा कार्यालयमा बाँकी रहेको उल्लेख छ । मुलुकभरका ५ हजार २ सय ३३ माध्यमिक विद्यालय र ४ हजार १ सय ८० स्वास्थ्य चौकीमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पु¥याउने लक्ष्य भने यसअघि नै पूरा भइसकेको छ । “यसरी ९९.२९ प्रतिशत स्थानीय तह, ९८.३१ प्रतिशत वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको छ भने माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्य शतप्रतिशत पूरा भएको छ,” प्रवक्ता पौडेलले भने, “समग्रमा हेर्दा हामीले लक्ष्यको ९९.३५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं ।”

प्राधिकरणका अनुसार भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका ४ हजार २ सय ५१ स्थानमा यसअघि नै सम्झौता भई काम अगाडि बढेको थियो । त्यसैगरी काठमाडौं उपत्यका बाहेकका अन्य ६६ जिल्लामा पनि २० एमबीपीएसको ननडेडिकेटेड ब्रोडब्यान्ड सेवा विस्तारका लागि सम्झौता भइसकेको छ । यी परियोजना समयमै सम्पन्न हुँदा सबै सामुदायिक विद्यालयमा चालू वर्षभित्रै ब्रोडब्यान्ड इन्टरनेट पु-याउने लक्ष्य पूरा भएको हो । डिजिटल नेपाल फ्रेमवर्क २०७६ को कार्यान्वयनका लागि अप्टिकल फाइबर विस्तारमा सरकार आक्रामक देखिएको छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.