बर्दिया, साउन ३ः जिल्लाको बढैयाताल गाउँपालिका २ फुटाहाको भारतीय सिमाना नजिक अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका ३ का उमेश खत्री, कृष्ण प्रसाद थारु र सुनिल थारु रहेका छन् ।
अवैध लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ३ ग्राम ३ सय ९० मिली ग्राम ब्राउन सुगर जस्तो धुलो पदार्थ र नगद रु १० हजार १ सय २० बरामद भएको थियो ।
उक्त धुलो पदार्थ र नगद सहित तत्काल उनीहरुलाई पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए ।
नाबालिकालाई करणी गर्ने चमार पक्राउ
मिति २०७८ चैत १५ गते गुलरिया नगरपालिका १२ बस्ने अन्दाजी ४० वर्षिय श्रीराम चमारले सोही स्थान बस्ने ६ वर्षकी नाबालिकालाई घरका कोही नभएको मौकाछोपी जबरजस्ती करणी गरेको अभियाेगमा पक्राउ गरेकाे छ । करणी गरेकाे सूचना प्राप्त भए पश्चात् उनलाई पक्राउ गर्न प्रहरी टोली परिचालित गरिएको थियो ।

प्रहरीको टोली पक्राउका लागि परिचालन भएपछि उनी फरार रहेकाले खोजतलास गर्दै जाने क्रममा लुकिछिपी बसेको अवस्थामा मिति २०७९ साउन २ गते पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए ।