ब्यारेक खाली गरेर उदयपुरमा क्वारेन्टाइन निर्माण

| 2020 Mar 23 | 01:35 pm 2838

उदयपुर, चैत १०: विश्वभर फैलिएको कोभिड –१९ को सम्भावित सङ्क्रमणलाई रोक्न उदयपुरमा नेपाली सेनाले ब्यारेक खाली गरेर क्वारेन्टाइन निर्माण गरेको छ ।

जिल्लाको कटारी नगरपालिका १ मा रहेको नेपाली सेनाको १८ नम्बर बाहिनीअन्तर्गत रणशार्दुल गणको बेलसोत क्याम्पलाई खाली गरेर क्वारेन्टाइन बनाइएको क्याप्टेन सूर्यबहादुर राईले जानकारी दिए ।

उक्त गणलाई प्रदेश १ सरकारले गएको फागुन २९ गते प्रदेशमा कोरोना भाइरसको सम्भावित जोखिम न्युनीकरण गर्न क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो ।

न्युनतम आवश्यक स्वास्थ्य मापदण्ड कायम गरेर ब्यारेकको ३४ वटा भवनलाई २ सय बेड क्षमताको क्वारेन्टाइनमा परिणत गरिएको हो ।

ब्यारेकमा रहेका नेपाली सेनालाई एक किलोमिटर टाढा अस्थायी टहरा निर्माण गरेर राखिएको गणका क्याप्टेन राईले बताए ।

विभिन्न कलस्टरमा विभाजित गरेर महिलालाई बेग्लै र पुरुषलाई बेग्लै राख्नेगरी क्वारेन्टाइन निर्माण गरिएको बताइएको छ ।

नेपाली सेनाले स्थानीय सरकार र प्रदेश सरकारसँग समेत सहकार्य गरिरहेको १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.