ब्यारेकका लागि स्थान पाएन सशस्त्रले

रिपोर्ट नेपाल | 2018 Nov 29 | 09:12 am 2113

दोलखा, मंसिर १३: जिल्लाको सुरक्षाका लागि स्थायी दरबन्दी लिएर आएको सशस्त्र प्रहरी बल गुल्मले बसोवासका लागि अझैसम्म उचित स्थान पाउन सकेको छैन। मुलुक संघीय ढाँचामा गएसँगै ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल विस्तार गर्ने योजनाअनुरुप १६० सशस्त्र प्रहरीको दरबन्दीसहित विस्तार भएको गुल्मलाई बसोबासका लागि उचित स्थानको अभाव भएको हो।

राष्ट्रिय गौरवको आयोजना, महत्वपूर्ण प्रतिष्ठान, औद्योगिक सुरक्षा र विशेषगरी उत्तरी सीमा सुरक्षाका लागि गत साउन १ गते दरबन्दी स्वीकृत भएर असोज १८ गतेदेखि सदरमुकाम चरिकोटमा स्थापित उक्त नं १८ गुल्मलाई स्थान अभावकै कारण सुरक्षामा समेत चुनौती थपिएको छ।

गुल्मले चरिकोटस्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयको भवन प्रयोग गर्दै आए पनि उक्त स्थान पर्याप्त नरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक किरणकुमार कठायतले जानकारी दिए। महिला तथा बालबालिका कार्यालयका लागि बनाइएको उक्त साढे दुईतले भवनमा पनि भुइँतलाको एउटा हल, दोस्रो तलाको एउटा कोठा र एउटा भान्सा मात्रै आफुहरुले पाएको उहाँले बताए।

स्थानीय सरकार आएसँगै नगरपालिका तथा गाउँपालिकामा गाभिन पुगेको उक्त कार्यालयले भवनको पहिलो तलाको सबै कोठा स्टोर बनाएर राखेको छ भने सुरक्षा निकायले प्रयोग गरेको भवनको भुइँतलामा सोही कार्यालयको गाडी चालकका परिवारले छोडका छैनन् ।

कार्यालय खारेजीसँगै सम्पूर्ण सामान जिल्ला समन्वय समितिलाई जिम्मा लगाउन विवरण बुझाए पनि निरीक्षण तथा रुजु गर्ने काममा ढिलाइ भएकाले सामग्री हटाउन नसकेको स्टोरकिपर समेत रहेकी सहायक महिला विकास निरीक्षक अञ्जुला सिग्देले बताए।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले उक्त गुल्मलाई अन्यत्र सार्ने तयारी भइरहेको बताए। जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि तीन हजार ६२४ वर्गमिटरमा फैलिएको उक्त कार्यालयको जग्गामा सशस्त्रलाई सार्ने तयारी भइरहेको उनले जानकारी दिए।

“कृषि विकास कार्यालयको भवनमा हाल रहेको किबी जोनको कार्यालय महिला तथा बालबालिका कार्यालयको भवनमा सार्न तयारी भएको र यसका लागि सङ्घीय मन्त्रालयस्तरमै कामकुरो छिनोफानो भएर आउनुपर्ने भएकाले पनि समस्या उत्पन्न भएको प्रजिअ पाठकको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.