बोक्सीको आरोपमा श्रीमती कुट्ने परियार जेल चलान

रिपोर्ट नेपाल | 2018 Nov 15 | 11:30 am 2723

पोखरा, कात्तिक २९  : आफ्नै श्रीमतीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सन्तोष परियार जेलको चिसो छिडीमा पुगेका छन् । प्राय दिनहुँ एक न एक निहुँ खोज्दै बोक्सी लागेको भन्दै कुटपिट गरेका कारण परियारकी श्रीमती पुजा परियार न्यायको ढोका घचघचाउँन पुगेपछि जिल्ला अदालत कास्कीले छ महीना जेल र पाँच हजार जरिवानाको फैसला सुनाएको छ ।

घरको अर्को एक सदस्य बिरामी भएपछि झारफुक गर्ने क्रममा पूजालाई बोक्सी भनेर झाँक्रीले नाम लिएपछि सन्तोषले श्रीमतीलाई बोक्सी भन्दै कुटपिट गरेका थिए । सो घटनाका बारेमा प्रहरीमा उजुरी परेपछि प्रहरीले सन्तोष र अन्य सदस्यलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

उक्त अभियोगमा गत जेठ ९ गते सन्तोष र परिवारका अन्य सदस्यविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनीहरुलाई बोक्सी आरोप कसुर सजाय ऐन २०७२ को १ परिच्छेदको ४ को दफा ११ ‘१’ को क, ख, घ र ङ र उपदफा ४ अनुसार सजाय सुनाइएको हो ।

न्यायाधीश काजीबहादुर राईको एकल इजलासले सन्तोष परियारलाई जेल सजाय सुनाए पनि घटनामा परिवारका सासु, ससुरा, देवर, देवरानीले भने सफाइ पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.