बोक्सीको आरोपमा निर्घात कुटपिट, पीडितदेखि ५० हजार जरिवाना उठार्इ भाेजभतेर !

| 2018 Nov 05 | 04:46 pm 1928

जनकपुर, कात्तिक १९  : धनुषामा एक महिलालाई बोक्सीको आरोपमा सार्वजनिकस्थलमै कुटपिट गरी नगद दण्ड जरिवानासमेत गराइएको घटना सार्वजनिक भएको छ । धनुषाको धनौजी गाउँपालिका–२ बस्ने ३८ वर्षीया मनतोरिया देवी मण्डल खत्वेलाई गत कात्तिक ९ गते पञ्चले बोक्सी भन्दै कुटपिट गरेको घटना सार्वजनिक भएको हाे ।

श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला आफन्तजनले नै बोक्सी भन्दै तथानाम गालीगलौज गर्नुका साथै नगद रु १ लाख जरिवाना तिराएको पीडितले जनाइन् । जबर्जस्ती कुटपिट गर्दै जेठाजु इन्दल मण्डल खत्वेले नै बोक्सी स्वीकार गर्न लगाई रु ५० हजार र गाउँलेलाई भोजभतेर गर्न रु ५० हजार गरी पञ्चले रु एक लाख जरिवाना गरेको पीडित महिलाले बताएकी छिन् ।

समाजका माइजन (पञ्च) फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डललगायत जेठाजुसमेतले लछारपछार गर्दै कुटपिट गरी बोक्सी स्वीकार गर्न लगाएपछि जरिवानासहित भोजभतेर माग गरेको बताए ।

बेहोस नै बनाए

पीडितका पति वैदेशिक रोजगारीका लागि दुबइमा रहेका छन् । उनले अाफ्नाे पीडा यसरी सुनाइ्न, ‘मेरो श्रीमान् विदेशमा रोजगारी गर्नु हुनुहुन्छ । घरको अवस्था जसोतसो चल्दै थियो । विदेश गएपछि क्रमिकरुपमा घरको अवस्था सुधार हुन थालिसकेको थियो । तर, एकाएक सामान्य कुराका लागि पनि विवाद हुन थाल्यो । जेठाजु इन्दल, जेठानी मानकी देवीलगायतले विभिन्न निहुँमा कुटपिट गर्न थाले । त्यसपछि जेठाजुले जातिगत समाजका पञ्चलाई बोलाए । मलाई बोक्सी आरोप लगाई कुटपिट गरी ज्यान मार्ने धम्की दिइ स्वीकार गर्न लगाए ।’

पीडित महिलाले रुँदै सुनाइन्, ‘नस्वीकारेसम्म माइजनको अगाडि नै जथाभावी कुटपिट गर्ने र लछारपछार गर्दै माइजनले हातखुट्टा, मुक्काले शरीरको विभिन्न अङ्गमा निर्घात कुटपिट गरे । त्यसपछि मैले विवश भई अाराेप स्वीकार गरेँ । अनि पञ्चले रु ५० हजार र रु ५० हजारको भोजभतेरका लागि भन्दै १ लाख रकम जरिवाना लिने निर्णय गरे । जरिवाना नतिर्ने बताएपछि थप कुटपिट गरेर मलाई बेहोस नै बनाए ।’

वडाध्यक्षले पनि गरेनन् सहयाेग

पञ्चले बेहोस बनाएर गएपछि छोरीले आफूलाई घरमा उठाएर लगेको पीडितको भनाइ छ । दुई छोरा र दुई छोरीकी आमा रहेकी उनले विदेशमा रहेका आफ्ना पतिलाई फोन गरेर आफूमाथि भएको घटना सुनाएपछि पतिले स्थानीय जनप्रतिनिधिकहाँ न्यायका लागि जान सुझाव दिएको बताइन् ।

सोहीअनुसार उनले धनौजी गाउँपालिका–२ का वडाध्यक्ष राजकुमार साहसमक्ष उजुरी गरेको जनाइन् । तर उनले मनमा मल्हम लगाउनुभन्दा पनि उल्टै जात र समाजमा मिलेर बस्न भन्दै माइजनको निर्णय स्वीकार गर्न दबाव दिएकाे बताइन् ।

अब के गर्छ प्रहरी ?

कतैबाट सहयाेग नपाएपछि कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालय धनुषाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा दोषीमाथि कारबाही र न्यायको माग गर्दै उनले उजुरी दर्ता गराएकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले अब घटनाबारे अनुसन्धान थाल्ने बताए । यस विषयमा पीडितले प्रदेश सरकारलाई समेत जानकारी गराएको उनकाे भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.