बैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गर्ने चारजना ब्यूरोको खोरमा

रिपोर्ट नेपाल | 2018 Jul 29 | 08:39 pm 2282

काठमाडौं, साउन १३ : बैदेशिक रोजगारीमा पठाइदिने भन्दै आकर्षण र प्रलोभनमा पारेर ठगी गर्ने चार जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

ब्यूरोका प्रवक्ता कृष्णहरि शर्माले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार उत्तरकोरिया स्थित कृर्षी फर्ममा जागिर लगाइदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको विशेष सूचनाको आधारमा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका दिनेश भन्ने रामबहादुर थापा, दिनेश श्रेष्ठ र कल्पना ढुङ्गानालाई पक्राउ गरी अदालतबाट म्यादथप गरी अनुसन्धान भइरहेको जनाइएको छ । पक्राउ परेका तीन जना अभियुक्तले हेटौडाका दुई जनासँग जनही पाँच लाख लिई ठगी गरेका थिए।

सिन्धुली जिल्लाको पुरानो झागली ७ घर भई काठमाडौं बस्दै आएका दिनेश भन्ने रामबहादुर थापा र मकवानपुर जिल्ला घर हुने कल्पना ढुङ्गानाले अष्ट्रेलिया, पोल्याण्ड, दक्षिण अफ्रिका लगाएतका देशमा आकर्षक पारिश्रमिक सहित रोजगारी दिलाइदिने भन्दै पाँच जना व्यक्तिबाट बयालिस लाख रकम लिई ठगी गरेको ब्यूरोले जनाएको छ । पक्राउ परेका थापालाई कपन, श्रेष्ठ र ढुङ्गानालाई महाराजगंजबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

यसैगरी मकाउमा राम्रो तलव सुविधा सहितको रोजगारीको प्रलोभन दिएर २३ जना व्यक्तिबाट प्रति व्यक्ति २ लाख ७५ हजार उठाएर ठगि गरेको उजुरीको आधारमा ब्यूरोले सुनसरी धरान घर हुने ५० बर्षीय कृष्ण भण्डारीलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको छ । ठगीमा अन्यको समेत संलग्नता रहेको भन्दै ब्यूरोले खोजतलास जारी राखेको छ ।

उपत्यकामा यतिखेर बैदेशिक रोजगारमा राम्रो अवसर दिलाइदिने गिरोहको विगविगी बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.