बैंक ह्याकिङका एजेण्ट स्याङ्जाबाट प्रक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 26 | 05:31 pm 1892

स्याङ्जा, असोज ९ : कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ ।

सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ । पक्राउपर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाडौँ ल्याएर घटनाको अनुसन्धान गरिने उनले बताए । उनको बैँक खातामा रु ६५ लाख जम्मा भएपछि उनले निकाल्न भ्याएका थिएनन् ।

यसअघि महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने नेपाली एजेण्ट गरी १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए ।

त्यसमध्ये १० लाख हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा लैजान नपाएको प्रहरीले जनाएको छ । प्रहरीले रु ६० लाख बरामद गरिसकेको छ । यसका मुख्य योजनाकार अफ्रिकीमूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका थिए । उनले रु पाँच अर्ब निकाल्ने योजना बनाएको खुल्न आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.