बैंकिङ क्षेत्रमा रमाउदै आएका रमेश क्षितिज एक्कासी माेडलिङमा

रिपोर्ट नेपाल | 2022 Mar 27 | 01:37 pm 1697

काठमाडाैं, चैत १३ः दोलखाको चरिकोटका रमेश खतिवडा (क्षितिज) को सानैदेखिको सपना थियो कला क्षेत्रमा जम्ने। तर, उनको करिअर बन्यो बैंकिङ क्षेत्रमा। हाल मुक्तिनाथ विकास बैंक चावहिल शाखाको प्रवन्धकको जिम्मेवारी सम्हालिरहेका उनले २०६५ सालमा अञ्जु पन्तको स्वर रहेको नेटो काटी जानेलाई बोलको गीतमा नायिका केकी अधिकारीको साथमा मोडलिङ गरी मोडलिङ करियर शुरु गरेका थिए भने २०६८ सालमा देवी घर्ती मगर र खुमन अधिकारीको एक लोक गीतको भिडियोमा अभिनय गरेपश्चात बैंकको जागिर शुरु गरेपछि कलाकरितालाई थाँती राखेका थिए।

बैंकर्सका रूपमा करिअर बनाउँदै गर्दा रमेशमा कलाकारिताप्रतिको मोह भने कायम नै थियो। केही गीतको म्युजिक भिडियोमा अभिनय तथा मोडलिङ गरिसकेपछि बैंकर्सका रुपमा रमाउँदै आएका उनलाई निर्देशक तथा कलाकार विनोद केसीसँगको भेटले मोडलिङमा कमब्याक हुने मेसो मिल्यो। केही समय अघि उनी बिनिता ढकालको स्वर तथा डा. दुर्गा पोखरेलको शब्द रचना रहेको रुँदा फर्की आउने भए बोलको गीतको म्युजिक भिडियोमार्फत मोडलिङ क्षेत्रमा फर्किएका छन्। विनोद केसीको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा रमेशका साथमा सगुन शाहीको अभिनय रहेको छ। यो गीतको भिडियोमा अभिनय गरेपछि उनलाई मोडलिङका लागि अफर आइरहेका छन्।

‘म स्कुल कलेजमा हुँदा डान्समा भाग लिन्थेँ भने कविता लेखन प्रतियोगितामा प्रथम हुन्थें। गाउँमा उकाली ओराली गर्दा आफू हिरो भएको कल्पना गर्थें, कान्लाहरूबाट हाम फाल्दा पनि राजेश हमालले हाम फाले जस्तो सम्झन्थें। गाउँमा हुँदा काठमाडौं गएर हिरो बन्छु भन्ने सोच थियो। द्वन्द्व निर्देशक तथा कलाकार गोपाल भुटानीले बलिउड फिल्ममा काम गरेको देख्दा म पनि एक्टिङ र डान्स सिकेर आफूमा निखारता ल्याएर मुम्बई गएर बलिउड फिल्म क्षेत्रमै लाग्छु भन्ने सोच थियो। यही क्रममा काठमाडौं आएर डान्स र अभिनय सिकेँ। गाउँमा हुँदा बलिउडको सपना देख्ने म काठमाडौं आएर संघर्ष गर्दै जाँदा बुझ्दै गएँ बलिउडको सपना त धर्तीमा उभिएर चन्द्रमा हेरेको जस्तो रहेछ’ रमेश भन्छन्।

मोहन निरौलाका निर्देशनमा एक नाटकमा पनि अभिनय गरेका रमेशले त्यो बेला नाटकमा गरेको अभिनयले अहिले आफूलाई म्युजिक भिडियोमा काम गर्दा निकै सहज भएको सुनाए। ‘नाटकमा काम गर्दा जति भिज्न सक्यो, त्यति नै त्यो नाटक होइन वास्तविक जिन्दगी हो भन्ने लाग्छ। त्यसै कारणले पनि होला यति लामो समयपछि फेरि भिडियोमा अभिनय गर्दा टेक खाइनँ’ रमेशको ठम्याइ छ ‘अहिले बैंकिङ क्षेत्रमा करिअर बनाइरहेको छु। काम गर्दै जाँदा सीईओ हौँला, राम्रो पोस्टमा पुगौँला। त्यस्तोमा सीमित व्यक्ति बाहेकले मेरो नाम र योगदानलाई समझँदैनन्। तर, कला यस्तो क्षेत्र हो, जहाँ काम गर्दै जाँदा भोलिको पुस्तासम्मले चिन्नेछन्। हामी अहिले पनि नारायण गोपालको गीत गाउँछौँ, विभिन्न सर्जकलाई सम्झन्छौँ। तर, उनीहरु त्यसै त्यहाँ पुगेका होइनन्। त्यहाँसम्म पुग्न उनीहरूको अथक योगदान र तपस्या छ।’

बैँकिङ क्षेत्रसँगै मोडलिङलाई पनि साथसाथै अघि बढाउने रमेशको योजना छ। ‘बैंकिङ क्षेत्रमा मेरो १५ वर्ष भयो। कला क्षेत्रमा पनि पाइला राखेको छु। एक क्षेत्रले अर्को क्षेत्रलाई असर नगर्ने गरी दुवैलाई समय म्यानेज गर्दै संगसंगै लानेछु। दर्शकदले रुचाउनुभयो, मौका आयो र आफूमा क्यापासिटी पनि भयो भने टेलिफिल्म, फिल्मलगायत अन्य विधामा पनि काम गर्नेछु। जहाँसम्म पुगिएला पुगिएला, कला क्षेत्रको यात्राचाहिँ रोकिन्न’ रमेश भन्छन्। जनता बैंकमा हाेइन बैंक जनतामा जानु पर्छ भन्ने उद्देश्य लिएर बैंकिङ क्षेत्र समातेकाे रमेशकाे कथन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.