बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ

| 2022 Jan 29 | 06:38 pm 1853

काठमाडौं, माघ १५ः बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्‍वर बस्ने धनुषा जनकपुरधाम उप महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहले बिभिन्न ब्यक्तिहरूलाई प्रलोभनमा पारी साझेदारीमा जग्गा/जमिन खरिद गर्ने, ब्यापार ब्यवसाय सञ्‍चालन गर्ने भनी झुक्यानमा पारी लिएको रकममध्ये एकजनालाई ६० लाख रुपैयाँ फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा बैंकबाट चेक बाउन्स भएपश्‍चात फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट पक्राउ गरेको हो ।

साथै सिंहले अर्का एकजना पीडितलाई समेत यस्तै प्रकारले दिएको ६१ लाख रूपैयाँको बैंक चेक बाउन्स भई उच्च अदालत पाटन ललितपुरको २०७७ पुस १५ गतेको आदेशले १५ लाख धरौटी माग हुँदा तत्काल बुझाउन नसकी उनी डिल्लीबजार कारागारमा गएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अवैध लागूऔषध सहित तीन पक्राउ

सर्लाही, मलंगवा नगरपालिका-७ गणेशिया चोकबाट करिब २० केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका-२ बैकुण्ठ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश २-००१ ह १४०२ नम्बरको टेम्पुलाई अस्थाई प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पुमा सवार करिश्मालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै टेम्पु चालकलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोलीखोलास्थित सडकबाट  करिब २ ग्राम ६ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुर्भाकोट नगरपालिका-८ बस्ने ३२ वर्षीय लक्ष्मण परियार र सोही नगरपालिका-९ बस्ने ३० वर्षीय रेसम वली रहेका छन् । नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ज ८३६ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.