काठमाडाैं, असार २१ः बैंकिङ्ग कसूर मुद्दाका फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूराेकाे टाेलीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं.१ कुपण्डोल बस्ने शिशिर शमशेर ज.ब.रा रहेका छन् ।
समिररत्न बज्राचार्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी शिशिर शमशेर ज.ब.रा भएको बैंकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको २०७७।०९।२६ गतेको फैसलाले उनलाई १०(दश) दिन कैद र ४५ (पैतालिस) लाख जरिवाना गरी हुने ठहर भएको थियाे ।
उक्त सजाय वेरुजू रही फरार रहेकोले निज प्रतिवादीलाई यस कार्यालयबाट खटीएको टोलिले मिति २०७८/०३/२१ गते बिजुलीबजार काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरिएको बताइएकाे छ।
२०७६ सालमा प्रतिवादी शिशिर शमशेर ज.ब.राले घर व्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्नको लागि रकम लिएको र उक्त रकम बराबरको चेक पीडित व्यक्तिहरुलाई पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नविल बैंकमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पिडींत जाहेरवालालाई ४५ लाख रुपैंया बराबरको चेक काटी दिएकोमा बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट उनको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको ब्यहोरा समेत जनाइएकाे छ।