काठमाडौँ ६ असोज । माछापुच्छ्रे बैंकको डेढ करोड बढी रकम हिनामिना गरेको आरोपमा रुपन्देही प्रहरीले एक निरन्जन पाठकलाई पक्राउ गरेको छ । रुपन्देही प्रहरीका अनुसार पाठकलाई पक्राउ गरिएको जनाइएको छ ।
‘माछापुच्छ्रे बैंकले दिएको जाहेरीको आधारमा अनुसन्धानको लागि पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानको लागि म्याद थप गराउने प्रक्रियामा छ ।
सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ को शाखामा रकम जम्मा गर्न आउने सेवाग्राहीलाई बैंकले रकम जम्मा गरेको भौचर दिइ खातामा रकम नै जम्मा नगरेको पाइएको छ ।
जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको मर्चवारमा राष्ट्र बैंकको नीति अनुसार माछापुच्छ्रे बैंकले शाखारहित बैंकिङ कारोबारको लागि कार्यालय खोलेको थियो ।
गत स्थानीय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रही दोस्रो भएका स्थानीय निरन्जन पाठकले एजेन्ट भइ बैंकसँग सम्झौता गरेर उक्त बैंक सञ्चालन गरेका थिए ।
बैंकमा रकम जम्मा गर्ने सेवाग्राहीले रकम झिक्न जाँदा रकम नै नभएको थाहा पाएपछि घटना बाहिर आएको थियो । घटना एक वर्षअघि बाहिर आए पनि सो बैंकका एजेन्ट पाठकलाई अहिले आएर मात्र बैंकिङ कसुरमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।