प्यूठान माघ २२ः प्यूठान जिल्लाको नौ बहिनी गाउँपालिका वडा नं. ६ लुङलेखबाट विवाह गरी बेहुली लिएर फर्कदै गर्दा ग १ ज ५०९२ को महेन्द्रा जीप दुर्घटना हुँदा ८ जना जन्तिको मृत्यु भएको छ भने बेहुला बेहुली सहित ५ जना घाइते भएको समाचार प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार उक्त जीप बेहुलाको घर नजिकै गौमुखी गाउँपालिका ओखरपाखा भन्ने ठाउँमा दुर्घटना भएको हो ।
जीप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । घटना स्थलमा ६ जना र उपचारका क्रममा २ जनाको मृत्यु भएको पनि प्रवक्ता गैरेले जनाएका छन् ।
मृत्यु हुनेमा स्थानीय एकै घरका श्रीमान बसन्त खड्का, श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन्। त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन्। एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन। मृत्यु हुनेहरु गौमुखी गाउँपालिका–६ का स्थानीय हुन्।
घाइते ५ जनाको उपचार भइरहेको प्रवक्ता गैरेले बताए । घटना गएराति ३ बजे भएको अनुमान गराइएको छ ।