कञ्चनपुर, साउन ९: खुला सिमाको दुरुपयोग गर्दै भन्सार छलिगरी विभिन्न सामान भित्राउने टोलीलाई सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले अवैध सामान नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ हल्दुखाल क्षेत्रबाट लुकिछिपी ल्याउँदै गरेको रु एक लाख ८४ हजार बराबरको महिलाले लगाउने एक सय ५४ थान सुट सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए।
सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर बोहराको नेतृत्वमा रहेको टोलीले बेवारिसे अवस्थामा रहेको सामान नियन्त्रणमा लिएर कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
केही दिनअघि पनि नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिदै गरेको सामान समेत नियन्त्रणमा लिएको थियो ।