बेवारिसे बम खेलाउँदा बिस्फाेट भई चार बालबालिकाकाे मृत्यु

| 2020 Apr 30 | 08:54 pm 2253

रोल्पा, बैशाख १८ः जिल्लाकाे त्रिवेणी गाउँपालिका-७ गाैरीगाउँमा बिहीबार साँझ नचिनेर पूरानो बेवारिसे बम खेलाउँदा विस्फोट भएर ४ जना बालबालिकाको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा १४ वर्षीय नखिराम डाँगी, ५ वर्षीय विजय खत्री, ११ वर्षीया बिमला डांगी, र १३ वर्षीय गौरव नेपाली रहेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताए।

बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिए।

टुइञ्च मोटर जस्तो बम विस्फोट भएको र अर्को बम भने विस्फोट नभएको त्यहाँको प्रहरीले जनाएको छ । विस्तृत विवरण एक छिनमा सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही पक्षले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा गाेठालाे गएर फर्कने क्रममा भेट्टाएको र खेलाउँदा विस्फोट भएको हुन सक्ने आशंका प्रहरीले गरेकाे छ। घटनास्थलमा रहेको अर्को बम अबेर साँझ नेपाली सेनाले डिस्पाेज गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.