बेल्जियम समूह विजेता, इंग्ल्यान्ड उपविजेता

| 2018 Jun 29 | 06:43 am 3906

काठमाडौं,असार १५: बेल्जियम समूह विजेता बन्दै रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहिबार राति भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डलाई १ – ० ले हराउदै बेल्जियम समूह बिजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

केलिन्नग्राड स्टेडियममा भएको खेलमा बेल्जियमलाई जित दिलाउन अदनान जानुजाजले निर्णायक गोल गरे । खेलको ५१ औं मिनेटमा जानुजाजले गोल गर्दै बेल्जियमलाई महत्वपूर्ण जित दिलाएका हुन् । बेल्जियमको लागि उनको यो पहिलो गोल समेत हो ।

यो जितसँगै समूह एचको बेल्जियमले ३ खेलबाट ९ अंक जोडेको छ । बेल्जियम अपराजित रहन सफल भयो । पराजित इंग्ल्यान्ड ६ अंक जोडेर उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । बेल्जियम र इंग्ल्यान्ड एक खेल अगावै नकआउट चरणमा पुगिसकेका थिए ।

यो समूहमा ३ अंक जोडेको ट्युनिसिया र अंक बिहिन पानामा समूह चरणबाट बाहिरियो । अन्तिम खेलमा ट्युनिसियाले पानामालाई २ – १ ले हराएको थियो ।

अब बेल्जियमले नकआउट चरणमा जापानसँग खेल्ने छ । यस्तै इंग्ल्यान्डले कोलम्बियासंग खेल्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.