बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

रिपोर्ट नेपाल | 2018 Aug 07 | 07:02 am 2143

सोलुखुम्बु, साउन २२: गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ ।

तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि आज सुरक्षा समितिको बैठक बसेर गृहमन्त्रालयमा सहयोगका लागि अनुरोधपत्र पठाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए।

शव माथि नदेखिएको, ताल चिसो र गहिरो भएकाले उद्धारको प्रयास सफल हुन नसकेको प्रजिअ रानाको भनाइ छ । उनले भने, “उद्धारका लागि आइतबार नेपाली सेना पनि परिचालन गरिएकोे तर तालीम प्राप्त जनशक्ति र पर्याप्त साधन नहँुदा उद्धार गर्न सकिएन ।”

उद्धारका लागि गृहमन्त्रलायबाट साधनसहितको थप दक्ष जनशक्ति गोक्यो आउने प्रजिअ रानाले विश्वास व्यक्त गर्नुभयो । घटनास्थल आसपासमा सञ्चार सम्पर्कसमेत नहुने भएकाले सञ्चार सम्पर्क गर्नसमेत करीब २ घण्टाको पैदल यात्रामार्फत तल झर्नु पर्ने प्रहरीले जनाएको छ ।

गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका तीन जना विद्यार्थी शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका हुन् । नुहाउने क्रममा बेपत्ता हुनेमा खुम्जुङ मावि कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराइली रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.